मधेशमा पानीको अभाव…..

वीरगञ्ज (पर्सा) –      वीरगञ्ज महानगरपालिका-२४, रानीघाटका पिन्टु श्रीवास्तवले ७ वर्षदेखि चलाइरहेको चापाकलमा अचेल पानी आउँदैन । २ सय ६० फिट खनेर राखेको चापाकल कुनैदिन यसरी सुक्ला भनेर उनले कल्पनै गरेका थिएनन् । अहिले खानेपानी समेत छोराको स्कुलबाट ल्याउनु परेको छ’, उनी भन्छन्, ‘नुहाउन र लुगा धुन कति दु:ख छ भनिसाध्ये छैन ।’ उखर्माउलो गर्मी हुने वीरगञ्जमा उनी पहिले दैनिक नुहाउँथे । ‘तर, यसपटक दुई दिन भयो, जीउमा पानी हाल्नै पाएको छैन’, श्रीवास्तव सुनाउँछन् । उनको घर नजिकै रहेको गुगल बोर्डिङ स्कुलमा भएको बोरिङबाट अलिअलि पानी आइरहेको छ । छोरा त्यहीँ पढ्ने भएकाले उनले बेलाबेला खानेपानी ल्याउन पाइरहेका छन् । स्कुल बिदा भइसकेपछि त्यहाँबाट खानेपानी ल्याइरहेका छौं, लुगा धुनलाई चाहिँ ट्यांकरबाट बाँड्ने पानी प्रयोग गरिरहेका छौं’, श्रीवास्तवले थपे, ‘ट्यांकरबाट दुई/तीनवटा बाल्टीमा पानी थापेर राख्ने गरेका छौं, त्यसैले नुहाउने, लुगा धुने हो । वीरगञ्जका केही स्थानमा सोमबार अपरान्ह सिमसिमे पानी पर्‍यो । त्यसले वीरगञ्जलाई केही शितल त बनाएको छ । तर, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह भन्छन्, ‘यति पानी परेर यहाँ बस्नेलाई केही सहज होला, तर पानीको समस्यालाई केही फरक पार्दैन । तत्काललाई अहिलेको समस्या समाधान गर्न पर्सामा नेपाली सेनाले दमकल समेत गरी ६ वटा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । वीरगञ्ज महानगरले समेत छुट्टै ७ वटा दमकल/ट्यांकरबाट पानी बाँडिरहेको छ । वीरगञ्जलाई दैनिक करिब २.५ करोड लिटर पानीको आवश्यकता पर्छ, महानगरपालिकाको पानी ट्यांकरबाट दैनिक २४ घण्टामा करीब ४.५ लाख लिटर पानी वितरण भइरहेको छ’, मेयर सिंह भन्छन्, ‘नेपाल खानेपानी संस्थानले दैनिक १ करोड ७० लाख लिटर पानी आपूर्ति गर्छ, त्यसबाहेक विभिन्न ठाउँमा डिप बोरिङ समेत राखेका छौं । यद्यपि, हाम्रो आवश्यकता पूरा हुन सकेको छैन । वीरगञ्ज–२४ का दिलिप यादव तत्काललाई गाउँमा बोरिङ राखिए केही राहत हुने बताउँछन् । ‘तर हामी कहाँ न खानेपानी संस्थानको पाइप लाइन आइपुगेको छ, न बोरिङ नै छ’, उनले सुनाए, ‘डेढ महिना भइसक्यो, चापाकलमा पानी नआएको कहिलेकाहीँ सेनाले बोकेर ल्याउने ट्यांकरबाट खानीपानी लिइरहेका छौं ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार