काठमाडौँ – नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । निर्माण कम्पनीले आगामी कात्तिक ७ गतेसम्ममा आयोजना हस्तान्तरण गर्ने लक्ष्य राखे पनि सुरुङ सञ्चालनका लागि आवश्यक तालिम, परीक्षण र सुरुङ हस्तान्तरण प्रक्रियाका लागि थप दुई–तीन महिना लाग्ने आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए । सुरुङ सञ्चालनका लागि तालिम सञ्चालन गर्नुपर्छ । तालिम दिनुपर्ने, ह्यान्डओभर हस्तान्तरण प्रक्रिया चाहिँ दुई–तीन महिना जस्तो त्यसलाई समय लाग्छ,’ उनले भने, ‘त्यो पब्लिकलाई कम्प्लिट्ली ओपन हुन चाहिँ, अब पुस–माघ नै लाग्न सक्ने देखिन्छ । हाल सुरुङभित्र जडान भएका उपकरणको परीक्षण, सडक सुरक्षा मार्किङ र अन्तिम चरणका काम भइरहेका छन् । आयोजना निर्देशक नेपालका अनुसार अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । पोर्टल बाहिरको पहिरो नियन्त्रणको काम भइरहेकोमा मनसुनका कारण केही प्रभावित भएको छ । ‘सोल नेलिङ’ प्रविधिबाट भइरहेको पहिरो नियन्त्रणको काम करिब ७० प्रतिशत सकिएको र मनसुन सकिएपछि बाँकी काम सम्पन्न गरिने जनाएको छ । आयोजनाको वित्तीय प्रगति ८५ प्रतिशत रहेको छ । कोभिड महामारी, पटक-पटक स्थानीयसँगको विवादलगायत कारण यो आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ । यसको ठेक्का सम्झौताअनुसार सुरुको म्याद २०८० वैशाख १३ गतेसम्म म्याद रहेको थियो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ वैशाख १३ गतेसम्मका लागि म्याद थप गरिएको थियो । उक्त म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः २०८२ कात्तिक ८ गते (२५ अक्टोबर २०२५) सम्मका लागि म्याद थप गरिएको थियो । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले २०७६ कार्तिक (२०१९ नोभेम्बर)देखि उक्त सुरुङ मार्ग निर्माण सुरु गरेको थियो । करिब २३ अर्ब लागत रहेको परियोजनामा १७ अर्ब १५ करोड सहुलियत ऋण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले दिएको थियो । बाँकी ५ अर्ब सरकार आफैंले लगाउने भने पनि निर्माण लागत र परामर्श खर्च बढेपछि ५ अर्ब २७ करोड रुपैयाँ जापानसँग ऋण लिने निर्णय गरेको छ । सार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले जापानी येन ५ अर्ब ७० करोड (५ अर्ब २७ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सुरुङ प्रयोग गरेबापत टोल ट्याक्स उठाउने:
सुरुङमार्गमा सवारीसाधनसँग लिइने शुल्क सूची पनि मन्त्रिपरिषद्मा स्वीकृतिका लागि प्रस्ताव गरिएको छ । यो सुरुङमार्ग प्रयोग गर्न मान्यताप्राप्त चार किसिमका सवारी साधनलाई फरक–फरक टोल ट्याक्स तोकी सूची तयार गरिएको छ । सुरुङमार्ग भएर भित्रिँदा र बाहिरिँदा एउटै सवारीलाई लाग्ने शुल्क समेत फरक–फरक छ । काठमाडौँ प्रवेशमा कार भ्यान, जीप, पिकअप, माइक्रोबसलाई प्रतिपटक ७५ रुपैयाँ शुल्क तोकिएको छ । यस्तै मिनिबस, मिनिट्रक र टिपरलाई प्रवेशमा प्रतिपटक १२५, बस, ट्रकलाई २५० र हेभी सवारी (लरी) लाई प्रतिपटक ५०० रुपैयाँका दरले प्रवेश शुल्क निर्धारण गरिएको छ । काठमाडौँबाट बाहिरिँदा कार भ्यान, जीप, पिकअप, माइक्रो बसलाई ५० रुपैयाँ लाग्नेछ भने मिनिबस, मिनिट्रक र टिपर बाहिरिँदा १०० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै बस, ट्रक २०० र हेभी सवारीलाई प्रतिपटक ३०० रुपैयाँ तोकिएको छ ।साभार : रापा












