सम्पदा क्षेत्रमा मनपरी,भुइँखेलको जग्गा पनि व्यक्तिको नाममा…..

काठमाडौँ –     देशका प्रमुख सम्पदा क्षेत्रहरूमा सरकारी निकाय र स्थानीय समूहबाटै अतिक्रमण र मनपरी निर्माण भइरहेको पाइएको छ । पाटनको लिच्छविकालीन मन्दिर परिसरमा पुरातात्त्विक संरचना भत्काएर ‘जिमखाना’ बनाउनेदेखि स्वयम्भूको ऐतिहासिक भुइँखेल (मैदान) नै व्यक्तिको नाममा दर्ता गर्नेसम्मका गम्भीर घटनाहरू सार्वजनिक भएका छन् । पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले आइतबार राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सम्पदा क्षेत्रमा भइरहेको श्रृंखलाबद्ध अतिक्रमणबारे जानकारी गराइन् । साथै यस्ता गतिविधि रोक्न विभागले कानुनी प्रक्रिया अघि बढाए पनि प्रभावकारी नभएको बताइन् । प्रधानाङ्गले पशुपति, स्वयम्भूदेखि पाटनका ऐतिहासिक क्षेत्रमा समेत विभागको स्वीकृतिबिना संरचना बनाउने र पुरातात्त्विक वस्तुमा क्षति पुर्‍याउने क्रम बढ्दै गएको बताएकी छन् ।

स्वयम्भूको ऐतिहासिक भुइँखेल व्यक्तिको नाममा:

स्वयम्भू क्षेत्रमा रहेको ऐतिहासिक भुइँखेल (सम्यक्को मैदान) व्यक्तिको नाममा दर्ता भएको पनि प्रधानाङ्गले बताइन् । स्वयम्भूको ऐतिहासिक भुइँखेल जहाँ १२ वर्षमा एकपटक सम्यक् पूजा हुन्थ्यो व्यक्तिको नाममा दर्ता भएको विषय पनि चर्चामा आएको उनले बताइन् । यद्यपि, यो विषयमा विभागमा औपचारिक जानकारी नआएको र राणाकालमै बकसस्वरूप दिइएको उनको भनाइ थियो । त्यो कुरा बाहिर आएको थिएन । गुपचुप रूपमा दिइएको रहेछ । केही समयअघि महानगरले पर्खाल बनाउने क्रममा जग्गा पाएको व्यक्तिले मुद्दा दायर गरेको रहेछ । त्यसपछि व्यक्तिको नाममा गएको भन्दै सरोकारवलाले विरोध गरेका छन् । तर यसबारे औपचारिक रूपमा आफूहरूले खोजी गरिनसकेको उनको भनाइ थियो । उनले भनिन्, ‘मैले औपचारिक खोज गरेको छैन । अनौपचारिक रूपमा प्रजातन्त्रअघि नै बकस पत्रको रूपमा दिइएको व्यक्ति हो भनेर बुझेकी छु । त्यसैगरी, स्वयम्भूको स्तुप वरिपरि तिब्बती भाषामा मन्त्र लेख्ने र छाप्ने काम एउटा व्यवसायकै रूपमा चलेको र त्यसलाई रोक्न नसकिएको उनले स्विकारिन् । ‘हामी आज हटाउँछौँ, भोलिपल्ट फेरि टाँसिसकेका हुन्छन् । यो काम निरन्तर रोक्न सकिएको छैन,’ उनले भनिन् ।

पशुपतिमा पनि स्वीकृतिविना यज्ञ कुण्ड निर्माण:

पशुपति क्षेत्रमा पनि अतिक्रमण र मनपरी ढंगले विभिन्न संरचना निर्माण गरिरहेको पाइएको छ । गत वर्ष कैलाश पर्वतमा स्वीकृतिविना ठुलो खाडल खनेर महायज्ञ गरिएको थियो । यस वर्ष पनि त्यस्तै प्रयास भएपछि विभागले रोकेको महानिर्देशक प्रधानाङ्गले बताइन् । उनले भनिन्, ‘अहिले फेरि अर्को समूहले सोध्दै नसोधी ९ वटा यज्ञकुण्ड खन्न थालेको थियो । हामीले थाहा पाउनेबित्तिकै रोक्न लगायौँ, तर त्यति वेलासम्म काम धेरै अघि बढिसकेको थियो । उनका अनुसार पशुपतिमा सन्ध्याकालीन आरती हुने स्थान पनि जोखिममा परेको छ । दाहसंस्कार गर्ने घाटको ठिक अगाडि आरती गर्दा एकातिर उत्सव र अर्कोतिर शोकको अवस्था देखिनु सांस्कृतिक रूपमा अनुपयुक्त भएको र अर्कोतर्फ हजारौँ मानिसको भीडले १५ शिवालय रहेको क्षेत्र भासिँदै गएको उनले बताइन् । त्यो ठाउँ भासिएर भत्किने अवस्थामा छ, यसको संरक्षणका लागि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भनिन् । महानिर्देशक प्रधानाङ्गले अधिकांश घटनामा क्षति भइसकेपछि मात्र विभागलाई खबर आउने गरेको गुनासो गरिन् । ‘सडक बनाउँदा होस् वा अन्य निर्माण गर्दा सम्पदा क्षेत्रमा काम गर्नुअघि विभागसँग समन्वय नै गरिँदैन,’ उनले थपिन्, ‘सम्पदा प्रभाव मूल्याङ्कन जस्तो महत्त्वपूर्ण प्रक्रियालाई बेवास्ता गर्दा यस्ता समस्या आएका हुन् ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार