काठमाडौं – अघिल्लो वर्षको तुलनामा यस वर्ष कक्षा १२ को नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा अघिल्लो वर्षभन्दा यो वर्ष ९ प्रतिशतले परीक्षामा सुधार देखिएको हो । नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कूल २८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
अघिल्लो वर्ष भन्दा कक्षा १२ को नतिजा ९ प्रतिशतले बढ्यो:
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आंशिकतर्फ ३६.४९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । ‘नियमिततर्फ बढे पनि आंशिकको नतिजा बढ्न सकेको छैन,’ अध्यक्ष शर्माले भने । शिक्षक आन्दोलनका कारण अन्योलकाबीच गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । अन्योलका बीच भएको परीक्षामा पनि नतिजामा सुधार आएको हो । परीक्षा १० दिनपछि धकेलिएको थियो । तर परीक्षा सकिएपछि उत्तरपुस्तिका जहाँ जहाँ लैजानुपर्ने हो त्यहाँ समयमै लगेर केन्द्रबाट परीक्षण भयो । बिहानदेखि बेलुकासम्म परीक्षण भयो । इन्ट्रिदेखि भेरिफिकेसनको काम समानान्तर गरेकाले समयमा नतिजा दिन सकेका हौँ,’ उनले भने ।
‘
अंग्रेजीमा कमजोर देखिए । कुनमा राम्रो नतिजा आयो । कुन विषयमा कमजोर भयो । यस विषयमा बोर्डले अध्ययन गरेर सार्वजनिक गर्छ,’ अध्यक्ष शर्माले भने । प्रदेश अनुसार पनि राम्रो र कमजोर नतिजा आउनुको कारण खोज्ने बोर्डले जनाएको छ ।साभार : अखप












