ट्रम्पले भारतीय सामानमा भन्सार शुल्क ५० प्रतिशत पुर्‍याए…..

काठमाडौं –      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएका छन् । यो नयाँ ट्यारिफ पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ । ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो थप ट्यारिफ आदेश जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ । बुधबार जारी गरिएको ह्वाइट हाउसको आदेशमा भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको छ । यही आधारमा अमेरिकाले भारतबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो । रुस युक्रेन युद्ध सुरु भएपछि भारतले रुसबाट आयात गर्ने कच्चा तेलको परिमाण ह्वात्तै बढेको थियो । सन् २०१८ सम्म रुसबाट भारत आयात हुने कच्चा तेलको हिस्सा १.८ प्रतिशत मात्र थियो तर सन् २०२५ मा यो परिमाण ३५ प्रतिशत पुगेको थियो । थप ट्यारिफ लगाउने अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने विशेषज्ञ बताउँछन् । उनीहरुका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्छ । अमेरिकाको यस निर्णयपछि भारतको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिंदै ‘अनुचित, अकारण र तर्कहीन’ भनेर टिप्पणी गरेको छ । भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपरेको प्रष्ट पारेको छ । अमेरिकाले भारतमाथि थप ट्यारिफ लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै थपेको छ, ‘रुसी तेल आयात गरेको भनेर अमेरिकाले थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको छ । जबकि त्यस्तै काम अरू धेरै देशहरूले पनि आफ्ना राष्ट्रिय हितमा गरिरहेका छन् । हामी फेरि दोहोर्याउँछौं कि अमेरिकाको यो कदम अनुचित, अकारण र तर्कहीन छ । भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ ।

अमेरिकी निर्णयपछि कांग्रेसले गर्‍यो मोदीको आलोचना:

अमेरिकाको यो निर्णयपछि भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको छ । कांग्रेसले एक्स (पहिलेको ट्विटर) मा एक पोस्टमा लेखेको छ, ‘नरेन्द्र मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन् । ट्रम्प निरन्तर भारतविरुद्ध कदम चालिरहेका छन्, तर नरेन्द्र मोदीले त उनको नामसम्म लिंदैनन् । मोदीजी, हिम्मत गर्नुहोस्, ट्रम्पलाई जवाफ दिनुहोस् ।’ कांग्रेस नेता राहुल गान्धीले पनि एक्समा लेखेका छन्, ‘ट्रम्पको ५० प्रतिशत ट्यारिफ एक प्रकारको आर्थिक ब्ल्याकमेल हो । भारतलाई अनुचित व्यापार सम्झौताका लागि डराउने प्रयास हो । प्रधानमन्त्री मोदीले आफ्नो कमजोरीलाई भारतीय जनताको हितभन्दा माथि राख्न दिनुहुँदैन ।’

ट्रम्पका विशेष दूतले पुटिनसँगको भेटेपछि ट्रम्पको निर्णय सार्वजनिक:

बीबीसीका अनुसार मस्कोमा ट्रम्पका विशेष दूत स्टीव विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि ट्रम्पले भारतमाथि थप ट्यारिफ लगाउने घोषणा गरेका हुन् । यूक्रेन युद्धविरामका लागि रूसी सहमतिका सम्बन्धमा शुक्रवारको डेडलाइनअघि यो भेटवार्ता भएको हो। यसअघि ट्रम्पले अमेरिकाले रूसबाट युरेनियम, मल र रसायन जस्ता वस्तु आयात गर्ने कुरा आफूलाई थाहा नभएको बताएका थिए । भारतले अमेरिकालाई चुनौती दिँदै यसबारे प्रश्न उठाएको थियो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार