काठमाडौँ – असार र साउनमा डेंगु संक्रमण ह्वात्तै बढ्यो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक हेर्दा जुनमा ४९५ जनामा संक्रमण देखिएको थियो । तर जुलाईमा यो संख्या १ हजार ९०६ पुगेको छ । मनसुनको समयमा लामखुट्टेको प्रजनन बढेसँगै डेंगुको जोखिम बढेको हो । सात प्रदेशमध्ये गण्डकी प्रदेश ७८७ जना संक्रमितसहित सबैभन्दा बढी प्रभावित छ । यस्तै, बागमती प्रदेशमा ५५९ जना, कोशी प्रदेशमा ४७४ जना, लुम्बिनी प्रदेशमा ४३४ जना र सुदूरपश्चिम प्रदेशमा ३२७ जना संक्रमित भएका छन् । महाशाखाको आँकडाअनुसार देशभर डेंगुको प्रकोप बढ्दो क्रममा छ । सन् २०२४ को सुरुवातदेखि अगस्ट ६ (साउन २१) सम्मको अवधिमा देशभर २ हजार ६८८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने देशका ७४ जिल्लामा प्रकोप फैलिएको छ । विगत वर्षको डेंगु संक्रमण दर हेर्दा असार, साउन, भदौ, असोज र कात्तिक डेंगु फैलावटको उच्च जोखिम हुने महिना हुन् । यस अवधिमा यो वर्ष ६० हजारभन्दा धेरै डेंगु संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ । ‘समुदायमा भने वास्तविक संख्याभन्दा १० गुणा बढी संक्रमित हुन सक्छन्,’ महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले बताए । उनका अनुसार १० हजार जना संक्रमित हुँदा करिब १ हजार जनामा डेंगु देखिएको छ । स्वास्थ्य मन्त्रालयले डेंगुको बढ्दो संक्रमण रोक्न साउनलाई ‘डेंगु सचेतना महिना’ मानेको छ । मनसुनको सुरुवातसँगै जोखिम उच्च हुने हुँदा रोकथाम र नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सुरु गरिएको बताए मन्त्रालयले बताए पनि संक्रमण भने रोकिएको छैन । संघीय सरकारबाट डेंगु फैलिन नदिन २०८२/८३ का लागि १ करोड २० लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट कोशीमा २३ लाख ७५ हजार, मधेसमा १९ लाख, बागमतीमा १२ लाख ३५ हजार, गण्डकीमा १९ लाख ९५ हजार, लुम्बिनीमा २२ लाख ८० हजार, कर्णालीमा १८ लाख ५ हजार र सुदूरपश्चिम प्रदेशमा २३ लाख ७५ हजार रुपैयाँ छ । यस्तै देशभरका स्थानीय तहहरूले पनि ४ करोड ६५ लाख ९३ हजार रुपैयाँ विनियोजन गरेका थिए ।साभार : रापा












