काठमाडौँ – राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कम्पनी रमण कन्स्ट्रक्सनको चरम लापरबाहीको कारण बाँध अलपत्र बनेको छ । आयोजनाको सबैभन्दा महत्त्वपूर्ण मानिएको बाँध र विद्युत् गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरले काम गर्न नसकेको कारण आयोजनाको कामले गति लिन नसकेको ऊर्जा मन्त्रालयले जनाएको छ । तराईका पाँच जिल्लालाई वर्षैभरि सिञ्चित गरी कृषि उत्पादनमा कायापलट गर्ने उद्देश्यले आयोजनालाई सरकारले अघि बढाएको हो । तर,पछिल्लो एक वर्षदेखि अपेक्षाअनुसार काम हुन सकेको छैन । आयोजनाबाट तराईका पाँच जिल्लामा सिँचाइ सुविधासहित ३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य छ । तर कम्पनीले बाँध निर्माणको काम नबढाउँदा समस्या पैदा भएको हो । सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम कीर्तिमानी गतिमा सम्पन्न भएर आशा जगाए पनि आयोजनाको मुटु मानिने हेडवक्र्स (बाँध तथा पावरहाउस) निर्माणमा देखिएको कछुवा गतिले समग्र आयोजनाको भविष्यमाथि नै प्रश्न उठाएको छ । राष्ट्रिय गौरवको यो आयोजनाको कार्यान्वयन अवस्थाले भेरी–बबई डाइभर्सन आयोजनाकै नियति भोग्ने देखाउँछ । भेरी–बबईमा सुरुङ बनेर तयार भएको चार वर्ष हुँदा पनि आयोजनाको हेडवर्क्स र अन्य संरचना बन्न नसक्दा आयोजना अलपत्र परेको छ । आयोजनाका कारणभन्दा पनि बाँध निर्माणको ठेक्का पाएको निर्माण व्यवसायीले एक वर्षदेखि काम गर्न नसक्दा निर्माण कार्य ठप्पजस्तै छ । भारतीय ठेकेदार कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरको विवादले सुनकोशी–मरिण आयोजना अलपत्र परेको सिँचाइ विभागका महानिर्देशक मित्र बराल बताउँछन् । केही दिनअघि संसदीय समितिमा महानिर्देशक बरालले रमण कन्स्ट्रक्सनकै चरम लापरबाहीका कारण आयोजनाले गति लिन नसकेको बताएका थिए । सरकारले बारम्बार निर्माण कम्पनीलाई बोलाएर निर्देशन दिए पनि काम नबढेको उनको भनाइ थियो । यद्यपि सुरुङ निर्माणको काम भने आयोजनाको सबैभन्दा सफल पक्ष हो । टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरी यहाँ १३.३ किलोमिटर लामो सुरुङ खन्ने काम निर्धारित समयभन्दा १८ महिनाअघि नै सम्पन्न भइसकेको छ । तर, निर्माण कम्पनीले हेडवक्र्स, पावरहाउस तथा सर्ज ट्यांक निर्माणको ठेक्कामा हालसम्म ५० प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा मात्र १०.१९ प्रतिशत भएको बरालले जानकारी दिए । उनका अनुसार कोशी किनारमा बाँध नबनी र पानी पथान्तरण नभई यो सुरुङ सञ्चालनमा आउने अवस्था छैन । मुख्यतः बाँध निर्माणको काम अघि नबढ्दा आयोजनाको समग्र प्रगति देख्न नसकिएको उनले बताए । हाल आयोजनाको समग्र भौतिक प्रगति ३६.८३ प्रतिशत र वित्तीय प्रगति ३३.३९ प्रतिशतमा सीमित छ ।साभार : रापा












