काठमाडौं – मधेश मुद्दा, पहिचानको आन्दोलन र सत्ता राजनीतिको अवसरवादी खेलमा पटक-पटक आउने नाम हो- राजेन्द्र महतो । २०७९ सालको प्रतिनिधि सभा चुनावमा सर्लाहीबाट पराजित भएसँगै उनको सिंहदरबार प्रवेशको ढोका बन्द भयो । सत्ता राजनीतिको खेलमैदानबाट बाहिरै बस्नुपर्ने अवस्था आयो । त्यसपछि उनको यात्रा मोडिएको थियो- पहिचानको आन्दोलनतर्फ । बिहीबारबाट उनी फेरि सत्तारुढ दल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग कार्यगत एकता गर्न आइपुगेका छन् । पार्टी एकीकरणको बृहत्तर योजनासहित कार्यगत एकता गर्ने घोषणापछि महतो फेरि ‘परोक्ष’ रुपमा सत्तासँग नजिक भएका छन् । विगतमा मधेशका मुद्दा र मधेशीको मात्र कुरा गर्ने महतो २०७९ मा चुनाव हारेपछि हिमाल र पहाडका आदिवासी/जनजातिका अधिकारबारे पनि बोल्न थाले । लोसपाबाट क्रमश: निष्क्रिय भए । त्यही बेला उनले २०८० सालमा एउटा पुस्तक लेखे- अधुरा क्रान्ति । जुन पुस्तकमार्फत् उनले नेपालमा राजनीतिक विवादको विषय बन्दै आएको ‘बहुल राष्ट्रिय राज्य’ निर्माणको प्रस्तावना अघि सारेका छन् । पुस्तकमा उनले भनेका छन्, ‘क्रान्तिहरु अधुरा छन् । अपूरा छन् । यस्तोमा अधिकार पहिचानको प्राप्ति, सभ्यता र संस्कृतिको पुनःस्थापना, स्वराज्य, सुशासनसहितको समृद्धि सम्भव हुँदैन । त्यसकारण बहुल राष्ट्रिय राज्य स्थापनार्थ देशमा राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक छ। त्यसको लागि सबै एकताबद्ध भई अघि बढौं । सम्पूर्ण क्रान्ति गरौं ।’ किताबमार्फत् यस्तो आह्वान गर्दै लोसपा छोडेर नयाँ अभियानको रुपमा ‘राष्ट्रिय मुक्ति’ पार्टी गठन गरेका महतो आफ्नो ‘अधुरा क्रान्ति’ पूरा गर्न अहिले अशोक राईसँग मिल्न आइपुगेका छन् । अशोक राई नेतृत्वको जसपासँगको कार्यगत एकता एकीकरण हुँदै कुन तहसम्म पुग्ला अहिल्यै भन्न सकिन्नँ । किनकी, महतोको राजनीतिक विगत यति चलायमान छ, कुन सन्दर्भमा उनी कहाँ जोडिन्छन्, कुनबेला कुन मोर्चा र पार्टीमा जुट्छन् पत्तै हुन्न । चुनावसम्मको दीर्घकालीन योजनामा भएको यो कार्यगत एकताले महतोको ‘अधुरा क्रान्ति’ साँच्चै अधिकार दिलाएर पुरा हुन्छ कि विगत जस्तै सत्ताको भर्याङ चढेर ? जस्तो, अहिल्यै उनी गत चैतमा गठन भएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसहितका सातवटा दलसम्बद्ध ‘संघीय लोकतान्त्रिक मोर्चा’ मा आबद्ध छन् । बिहीबारबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेको र अहिले करिब पानी बाराबारको अवस्थामा रहेको अशोक राई नेतृत्वको जसपासँग कार्यगत एकता गर्न आइपुगेका छन् । एकै समयमा परस्परविरोधी दलसँग आफू अनुकूल मोर्चाबन्दीमा जोडिनु महतोको हकमा नौलो होइन, उनको ‘एकल पहिचान’ हो । राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झा भने दुईतर्फ जोडिनुको सन्दर्भ फरक रहेको बताउँछन् । ‘संघीय लोकतान्त्रिक मोर्चा धेरै वटा दलको लुज अलायन्स हो, यसले सबैका साझा मुद्दाहरूमा काम गर्छ,’ झाले अनलाइनखबरसँग भने, ‘अहिलेको कार्यगत एकता भनेको पार्टी एकतामा गइहाल्नका लागि हो । उनका अनुसार अब तत्कालै दुई पार्टीका संयुक्त कार्यक्रमहरू सुरु हुन्छन् र छिट्टै एकता हुन्छ ।साभार : अखप












