काठमाडौं – प्रधानमन्त्री बनेको १३ महिनापछि केपी शर्मा ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाएका छन् । नेपालको राजनीतिमा प्रधानमन्त्री बनेपछि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनको औपचारिक भ्रमण भयो कि भएन भन्ने तथ्यलाई लिएर उसको विदेश मामिला सम्बन्ध सञ्चालनको कुशलताको आयतन नाप्ने सनातनी परम्परा छ । त्यसैले ओली प्रधानमन्त्री भएदेखि नै उनको भारत भ्रमण कहिले हुन्छ भन्ने प्रतिक्षा थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार नेपाल भ्रमणमा आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गरे । चीनको भ्रमण गरिसकेका ओलीले भारतबाट औपचारिक निम्तो नपाउँदा राजनीतिक र कूटनीतिक वृत्तमा भारतसँगको ओलीको सम्बन्धबारे चर्चा भइरहेको थियो । अब ओलीको भदौ ३१ देखि भ्रमण हुने छ । शुरुमा २ दिनको लागि भनिएको भ्रमण तीन दिनसम्म लम्बिने स्रोतले बताएको छ । यद्यपि भ्रमणको मिति भने दुईपक्षले पछि औपचारिक रुपमा सार्वजनिक गर्नेछन् । नेवरहुड फर्स्ट’ नीति अबलम्बन गरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय सम्बन्धहरू राम्ररी अघि बढेको थिएन । तर बंगलादेश र पाकिस्तानसँगको सम्बन्ध मात्र होइन अहिले अमेरिकाले समेत च्याप्न थालेपछि मोदीले आफ्नो लागि सहज हुने मुलुकहरूसँग सम्बन्ध थप मजबुत बनाउने कोशिस गरिरहेका छन् । यही पृष्ठभूमिमा मोदीबाट अहिले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो आएको छ ।
को हुन् विक्रम मिश्री ?
नेपालमा राजदूत रहिसकेका विनय मोहन क्वात्राको कार्यकाल सकिएपछि १५ जुलाई २०२४ मा मिश्री विदेश सचिवमा नियुक्त भएका थिए । भारत–पाकिस्तानको पछिल्लो तनाव र जवाफी कारबही स्वरुप नयाँ दिल्लीले गरेको अपरेशन सिन्दुरबारे जानकारी दिँदा पारिवारिक विषयलाई जोड्दै उनलाई सामाजिक सञ्जालमा ट्रोल समेत गरिएको थियो । तर, भारतका राजनीतिज्ञदेखि कलाकारसम्मले स्ट्याटस लेख्दै उनलाई साथ दिएका थिए । खासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवका रुपमा समेत काम गरिसकेका मिश्री नयाँ दिल्लीका लागि संवेदनशील रणनीतिक जिम्मेवारीहरू पूरा गरिसकेका सफल कुटनीतिज्ञ मानिन्छन् । भारत र चीनबीच संवेदनशील सम्बन्ध भएका बेला उनी बेइजिङका लागि भारतीय राजदूत थिए । त्यहाँ खेलेको भूमिका र अनुभवका कारण मिश्रीलाई भारतको राष्ट्रिय सुरक्षा परिषद्को ‘डेपुटी सेक्यूरिटी एड्भाइजर’को जिम्मेवारी समेत दिइएको थियो । मिश्रीसँग भारतीय प्रधानमन्त्री आईके गुजरल र मनमोहन सिंहको सचिवालयमा रहेर काम गरिसकेको अनुभव समेत छ । सन् १९६४ मा भारतको जम्मुमा जन्मिएका उनले कूटनीतिक सेवामा चीन, अमेरिका, पाकिस्तान, भुटान र श्रीलंकामा रहेर समेत गरिसकेका छन् ।साभार : अखप












