सीता ढकालद्वारा युनाइटेड गोरखा सहकारीको १३ करोड अपचलन…..

काठमाडौं –     युनाइटेड गोरखा बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष सीता ढकाल पौडेलले संस्थाको करिब १३ करोड रुपैयाँ अपचलन गरेको पाइएको छ । पौडेलले बचतकर्ताको उक्त रकम स्वच्छन्द बिकोइ बिल्डर्सलाई ऋण दिई हालसम्म पनि भुक्तानी नभएको पाइएको हो । पौडेल एमाले बागमती प्रदेश कमिटी सदस्य हुन् । साथै, उनी सहकारी तथा गरिबी निवारण बागमती प्रदेशकी प्रमुख पनि हुन् । त्यतिमात्र होइन, उनी बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) की सञ्चालक पनि हुन् । पौडेल युनाइटेड गोरखा बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै नेफ्स्कुन सदस्य चुनिएकी हुन् । पौडेलले आफू आबद्ध सहकारी संस्थाको १२ करोड ८१ लाख रुपैयाँ बराबर बचत जलेश्‍वर स्वच्छन्द बिकोइ बिल्डर्सलाई भवन निमार्ण गर्न दिएकी थिइन् । बिल्डर्स कम्पनीले उक्त रकम हालसम्म पनि भुक्तानी नगरेपछि बचतकर्ताको बचत अपचलन भएको हो । पौडेलले उक्त रकम जलेश्वर बिल्डर्सका अध्यक्ष मनोजकुमार भेटवाललाई सेयर बापत तथा भवन निर्माणका लागि पटक–पटक गरी भुक्तानी दिएकी थिइन् । पौडेल र भेटवालबीचको कारोबारमा लेनदेन नमिलेपछि असार २०८० मा दुवै पक्षबीच बाँकी रकम भुक्तानी गर्ने सहमति भएको छ । उक्त सहमति अनुसार भेटवालले पौडेललाई १२ करोड ८१ लाख रुपैयाँ बुझाउन बाँकी भएको भन्दै चेक दिने गरी समझदारी गरेका हुन् । यसरी भएको समझदारी अनुसार भेटवालले २६ साउन २०८० मा साट्न मिल्ने गरी ४ करोडको चेक पौडेललाइ दिए । त्यसैगरी भेटवालले ३० मंसिर २०८० को मिति तोक्दै ८ करोड ८१ लाखको अर्को चेक दिई लिखत गर्छन् । भेटवालले बिल्डर्स कम्पनीको नामको प्राइम कमर्सियल बैंकको चेक पौडेललाई दिएका छन् । साथै, लिखत गर्दा भेटवालले चेक सटही नभए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइ कार्यान्वयनमा लैजान समेत सहमति जनाउँछन् । उक्त लिखत सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराइ पौडेललाई दिएको अवस्थामा समेत रकम भुक्तानी हुन नसकेपछि संस्था नै समस्यामा पुगेको स्रोतको भनाइ छ । संस्थाको उक्त कारोबारका विषयमा पौडेलसँग अनलाइनखबरले कुरा गर्दा जलेश्वरसँगको कारोबारमा समस्या भएको स्वीकार गरिन् । नेफ्स्कुनको सदस्य निर्वाचित भएपछि युनाइटेड गोरखामा नरहेको बताउँदै उनले भनिन, ‘नेफ्स्कुनमा गएपछि दुईतिर बस्न नमिल्ने भएर युनाइटेड गोरखाको उपाध्यक्ष छाडेकी हुँ । पौडेलका अनुसार सहकारीले उक्त पैसा जलेश्वरलाई ऋण दिएको होइन, संस्थाको ऋणीले स्वच्छन्दलाई लगेर दिएको अवस्था हो । स्वच्छन्दले संस्थालाइ तिर्न नसकेको पौडेलको भनाइ छ । जलेश्वरले तिर्नुपर्ने उक्त रकमका सन्दर्भमा सेक्युरिटी राखेको जानकारी उनले दिइन् । सहकारीबाट सविन, सन्तोष, राजेश लगायत व्यक्तिको अन्य सहकारीको कर्जा समेत गरेर त्यो रकम पुगेको उनको भनाइ छ । कागज धेरै जनाको नाममा गर्दा वडाले प्रमाणित गर्दैन, सबैको जोडेर गर्‍यो भने सजिलो हुन्छ भनेर एउटा कागज गरेको हो,’ पौडेलले भनिन्, ‘पैसा दिने बेला म फरक–फरक मान्छेको जो–जसको हो, त्यसैलाई दिन्छु भनेर मेरो नामबाट कागज गरेको हो । जलेश्वरले विगतमा अलि–अलि भुक्तानी दिएको भए पनि पछिल्लो समयमा नदिएको उनले बताइन् । जलेश्वरले गत वर्ष दसैंतिर भने १० लाख रुपैयाँ जति भुक्तानी दिएको उनको भनाइ छ । करिब ७ सय सदस्य भएको उक्त सहकारीको सेयर पूँजी करिब २ करोड छ । हाल संस्थाको कुल बचत भने १० करोड हाराहारी छ । संस्था सञ्चालनमा भए पनि राजनीतिक शक्तिका कारण उक्त विषयलाई ढाकछोप गरिएको देखिन्छ । संस्थामा समस्या भएका कारण बचतकर्ताले बचत फिर्ता नपाएको भए पनि उक्त विषयलाई बाहिर आउनबाट रोकिएको थियो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार