भारत-चीन सहमतिले लिपुलेकको घाउमा नुनचुक…..

काठमाडौं –    नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीच मंगलबार थप सहमति भयो । यो सहमतिले वर्षौंदेखिको नेपाल-भारत सीमा विवादको घाउ फेरि चहर्‍याएको छ । चीनका परराष्ट्रमन्त्री वाङ यीले गत सोमबार र मंगलबार (अगस्ट १८-१९) मा गरेको भारत भ्रमणका क्रममा यो सहमति भएको हो । विगतमा पनि यो त्रिदेशीय नाकाको विषयमा भारत र चीनले नेपाललाई छलेर आपसी सहमति गर्दै आएका थिए । त्यही श्रृंखलामा मंगलबार फेरि नयाँ अध्याय थपिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको यसै महिना सुरुमा चीन र त्यसपछि हुने भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत दुईदेशीय व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकीबीच थप सहमति भएको हो । नयाँदिल्लीमा चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार एवं भारत–चीन सीमा समस्या समाधानसम्बन्धी विशेष प्रतिनिधि अजित डोभालसँग भेट गरेका थिए । त्यसपछि मंगलबार राति भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा लिपुलेक नाकाबाट व्यापार पुन: सुचारु गर्ने उल्लेख छ ।

भारत र चीन रिसाउलान् भनेर नेपालले खुसी पार्न खोज्दाको परिणाम हो:

वाङ यीको दुईदिने भारत भ्रमणपछि मंगलबार जारी विज्ञप्तिमा सहमतिका १२ बुँदा छन् । भारतले जारी गरेको विज्ञप्तिको ९औं बुँदामा भनिएको छ, ‘दुवै पक्ष तोकिएका तीन नाकाहरू लिपुलेक पास, सिप्किला पास र नाथुला पासमार्फत सीमापार व्यापार पुन: सुरु गर्न सहमत भएका छन् । वाङ यीको भ्रमणपछि चीनको परराष्ट्र मन्त्रालयले बुधबार बिहान दुईवटा नोट जारी गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटसम्बन्धी नोटमा ‘दुवै पक्षले दुई देशबीच व्यापार र लगानी प्रवाहलाई ठोस उपायहरूमार्फत सहज बनाउने सहमति जनाए’ भन्ने मात्र उल्लेख छ । यो नोटमा नाकाको विषय र नाम उल्लेख छैन । तर, डोभालसँग वाङ यीले गरेको भेट सम्बन्धमा चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको नोटमा भने नाकाको विषय उल्लेख छ । नोटको ९ नम्बर बुँदामा ‘रेनचिङगाङ–चाङ्गु, पुलान–गुञ्जी र जिउबा–नाम्ग्या गरी तीनवटा परम्परागत सीमा व्यापार बजारहरू पुनः खोल्ने सहमति गरियो’ भन्ने उल्लेख छ । यो नोटमा स्पष्ट रूपमा ‘लिपुलेक’ भन्ने शब्द छैन । तर ‘पुलान- गुञ्जी’ भन्ने शब्द उल्लेख छ । पुलान नेपालको हुम्ला ताक्लाकोट नाकातर्फको चिनियाँ भूभाग हो । गुञ्जी चाहिँ नेपालले जारी गरेको चुच्चे नक्सा भित्रकै भूमि हो । साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार