काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच नेपालको भूमिबाट व्यापार अघि बढाउने सहमतिप्रति चीनमा शनिबार भएको द्विपक्षीय भेटवार्तामा असहमति जनाएका छन् । दुई मुलुकले गरेको सहमतिबारे चीनलाई असहमति दर्ज गर्नुपर्न आवाज उठिरहेका बेला चीन भ्रमणका रहेका प्रधानमन्त्री ओलीले त्यो कुरा उठाएका छन् । भ्रमणमा जानुअघि ओलीले यो विषयमा कुरा उठाउने जानकारी दिएर गएका थिए । चीनका राष्ट्रपति सी चिनफिङसँगको दुईपक्षीय र एक्ला-एक्लै भएको भेटमा ओलीले यो कुरा उठाएका हुन् । भेटपछि प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा यो कुरा उल्लेख छ । परराष्ट्र सचिव अमृत राईको भनाई उदृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिको विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्टरुपमा आपत्ति राख्नुभएको कुरा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो‘ भन्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्यहरू ले लिपुलेक नेपालको भूमि भन्ने स्थापित भएकाले यो तथ्यलाई चीनले पनि बुझेर नेपाललाई सहयोग गर्नुपर्ने कुरा राखेका थिए । सन् १८१६ को सुगौली सन्धि बमोजिम महाकाली पूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट रहेकोले यो भूमिको विषयमा चीनले नेपालले सहयोग गर्नुपर्ने ओलीले बताएका थिए । प्रधानमन्त्रीको भ्रमण र आज भएको द्विपक्षीय कुराकानीबारे चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले अनलाइनखबरसँग कुराकानी गरेका छन् । लिपुलेकका विषयमा परराष्ट्र सचिवको भनाइको रुपमा जे कुरा आएको छ त्यो नै आधिकारिक कुरा भएको उनले बताए । उनले प्रधानमन्त्री र राष्ट्रपति सीबीच छुट्टै कुरा पनि भएको जानकारी दिए । यो विषयमा हामीले राजदूतावासबाट पनि आधिकारिक धारणा ल्याएका छौं ।साभार : अखप












