२१ गते बाट एमालेको विधान महाधिवेशन…..

काठमाडौं –    नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिहरुलाई बिहान नौ बजेदेखि नै आउन भनिएको छ । उदघाटन समारोह भने ११ बजेदेखि सुरु हुने छ । ओलीलाई एक्लो द्वार, प्रतिनिधिलाई क्यूआर कोड उदघाटन सत्रपछि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि प्रस्तुत हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेता थापाले विहीबार नै पार्टी कार्यालयमा फरक मत दर्ता गराएका थिए । महाधिवेशनमा अनुशासन, लेखा र निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन् । प्रतिवेदनहरुमाथि भदौ २१ गते समूहगत छलफल हुने छ । ती छलफलका निष्कर्षलाई भदौ २२ गतेदेखि प्रस्तुत गरिने छ । प्रतितिनिधहरुको सुझाव र जिज्ञासामा नेताहरुले जवाफ दिने क्रम सकिएपछि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने र विधानसहितका प्रतिवेदन पास गर्दै महाधिवेशन समापन हुने एमालेले जनाएको छ । विधान महाधिवेशनमा एमालेले यसअघिका अन्य कार्यक्रममा जस्तै अध्यक्ष केपी शर्मा ओलीलाई आकर्षणको केन्द्र बनाएको देखिन्छ । काठमाडौं उपत्यका छिर्ने नाका भक्तपुर, थानकोट, कलंकीसहित आकाशे पुलमा समेत पोस्टर, झण्डा राखेर विधान महाधिवेशनलाई एमालेले महाउत्सवको छनक दिएको छ । गोदावरीको बसपार्कमा मुल प्रवेशद्वार बनाएर प्रतिनिधिलाई महाधिवेशनस्थल पुगेको आभास गराउन ५०० मिटरको दूरीमा तीन वटा गेट बनाइएको छ । २ हजार ८४० सिट क्षमताको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा ४ वटा प्रवेशद्वार छन् । मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठका अनुसार, पहिलो द्वारबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै प्रवेश गराइनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै छिर्नुपर्ने उनले बताए । महाधिवेशन हलमा एक नम्बर गेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई मात्र प्रवेश गराउँछौं, दुई नम्बर गेटबाट अन्य, नेता तथा प्रतिनिधिहरू प्रवेश गर्नेछन् । अन्तिम प्रवेश द्वारबाट क्याटरिङका लागि खाद्यान्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार