काठमाडौँ – संघीय राजधानी काठमाडौँलाई देशका पूर्वी जिल्लासँग जोड्ने छोटो दूरीको सडक हो बीपी राजमार्ग । मानिसहरू यो राजमार्ग हुँदै नेपालको पूर्वी भू–भागका अधिकांश जिल्ला आवतजावत् गर्छन् । २०८१ असोजको दोस्रो साता आएको बाढीका कारण भकुन्डेबेसीँ देखि नेपालथोकसम्म करिब २९.५ किलोमिटर ध्वस्त भएको बीपी राजमार्ग अहिले अस्थायी रूपमा सञ्चालनमा छ । गत वर्ष दसैँको मुखमा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले उक्त सडक खण्डमा क्षति गरेको थियो । यससँगै अघिल्लो वर्षको दसैँमा काठमाडौँबाट घर जाने यात्रुहरूले दोब्बर–तेब्बर भाडा तिरेर वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गरेका थिए । सिन्धुली, रामेछाप, उदयपुर, ओखलढुंगा, भोजपुरलगाय पूर्वी जिल्लाका मानिसहरूले काठमाडौं–धुलिखेल–दोलालघाट–चरिकोट–किर्ने हुँदै मन्थली रामेछाप–सित्खापुल तरेर खुर्कोट सिन्धुली हुँदै आवतजावत् गरेका थिए ।
यस्तै काठमाडौँ–हेटौडाबाट मदनभण्डारी राजमार्ग हुँदे सिन्धुलीमाडी खुर्कोट भएर उदयपुर घुर्मी हुँदै यात्रा गर्न बाध्य भएका थिए । दसैँमा घर जानको लागि दोब्बर शुल्क तिरेर यात्रा गर्नुपरे पनि फर्किँदा भने अस्थायी ट्र्याक निर्माण गरी सञ्चालनमा आएको थियो । फर्किँदा भने यात्रा कठिन भए पनि भाडादर नियमित हुँदा यात्रुलाई सहज भएको थियो । यो वर्षको दसैँमा पनि बीपी राजमार्ग अवरुद्ध हुने त्रास छ । किनभने यो राजमार्ग अझै अस्थायी रूपमा सञ्चालनमा छ । अस्थायी ट्रयाक निर्माण गरी सञ्चालन भइरहेकाले यो सडक सामान्य वर्षामै अवरुद्ध हुने गरेको छ । वेलावेला सडकमा लेदोसहितको पहिरो खसेर अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।साभार : रापा












