काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने निर्णय सच्याउन नेकपा एमालेभित्र भएको लामै तयारीलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएका छन् । गत ५-६ साउनमा सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय भएको थियो । यसको तीन दिनपछि (९ साउनमा) एमालेका पूर्व उपाध्यक्षको हैसियतमा भण्डारीले पत्रकार सम्मेलन गरी मदन भण्डारीबाट प्राप्त सदस्यता सीमित व्यक्तिको निर्णयले नखोसिने प्रतिक्रिया जनाएकी थिइन् । लगत्तै संस्थापन इतर पक्षले विधान महाधिवेशनबाट भण्डारीबारे गरिएको निर्णय सच्याउने परिस्थिति निर्माण गर्न जुटेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा विधान महाधिवेशनमा फरक प्रस्ताव लैजाने र प्रतिनिधिहरूबाट राय लिने तयारी थियो । तर शुक्रबारबाट गोदावरीमा जारी दोस्रो विधान महाधिवेशन हलमा फरक मतलाई औपचारिक रूपमा प्रस्तुत हुन नै दिइएन । नेताहरूका अनुसार पूर्व सहमति विपरीत ओलीले फरक मतलाई प्रस्तुत गर्न रोके । हाम्रो तयारी त ईश्वर पोखरेलकै नेतृत्वमा फरक प्रस्ताव लैजाने भन्ने थियो । त्यसैअनुसार तयारी पनि भइरहेको थियो’ भण्डारी निकट एक नेता भन्छन्, ‘तर सचिवालयको बैठकमा कर्ण थापाले फरक प्रस्ताव लैजाने भन्ने सहमति भयो । विधान महाधिवेशनको अघिल्लो दिन, बिहीबार झण्डै ५ घण्टा चलेको सचिवालय बैठकमा ओली आफैंले कर्ण थापाको फरक प्रस्ताव हलमा राख्न दिने सहमति गरेका थिए ।साभार : अखप












