काठमाडौं – नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् । यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । यसबीचमा सेनाले जारी गरेको यो विज्ञप्तिलाई चासोका साथ हेरिएको छ । नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ । सेनाले अघि भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।
बालेनको अपिल:
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन-जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।
डा. सन्दुक रुइतको अपिल:
वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्। मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन्। डा. रुइतले भने, ‘सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं। उनले सबैलाई शान्तिपूर्ण ढंगले देश निर्माणमा जुट्न आह्वान गर्दै थपे, ‘सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।साभार : अखप












