खरानीमाथि बसेर अहंकारको आगो ओकलिरहेका दल…..

काठमाडौँ –     राजनीतिमा मूलतः दुईवटा अभ्यास प्रचलित छन्, कि त नेताहरूले आन्दोलन जन्माउँछन् कि आन्दोलनले नेता । आन्दोलनले नेता जन्माए पनि, नेताहरूले आन्दोलन जन्माए पनि अन्तर्यमा भने एउटै कुरा लुकिरहेको हुन्छ, शासकीय शैलीप्रतिको असन्तुष्टि । २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदल, २०५२ सालमा माओवादीको सशस्त्र संघर्ष, २०६२/६३ को जनआन्दोलन, २०६५ को मधेश आन्दोलन, २०७२ को संविधान बनेपछिको मधेश आन्दोलन होस् या टीकापुर प्रकरण यी सबै आन्दोलनको केन्द्रमा कुनै न कुनै दल, संगठन या त नेताहरू थिए । आन्दोलनको उठान र बैठानमा उनीहरूकै भूमिका निर्णायक थिए । तर राज्य आतंक विरुद्ध कहिले हतियार त कहिले आवाज उठाएर विद्रोह गरेका यिनै दल र नेताहरूले आफू सत्तामा पुग्दा आफैंलाई नै ‘राजा’ ठानेपछि उनीहरूले अघि सारेका जनताका विषय ओझेलमा परे । जनताले पटक-पटक उठाएर बारम्बार सुध्रने मौका दिएका दलहरू बीचको दूरी बढ्दै बढ्दै गयो । पछिल्लो समय त यस्तो थियो कि उनीहरूले जनतालाई नै गाली गर्न थालेका थिए, अन्सन्तुष्टिहरूलाई अराजकताको उपमा दिंदै थिए । उनीहरूले बुझ्दै बुझेनन् कि अराजकता र असन्तुष्टिका बीचमा एउटा सानो सिमाना छ, असन्तुष्टिहरूको सम्बोधन गर्नुपर्छ । आफूहरूभन्दा ‘स्मार्ट’ भइसकेको नागरिकको भाषा र भावना नबुझेकाहरूलाई एकै झट्कामा जवाफ दिएका हुन् जनताले र भएको हो भदौ २३ को जेन-जी विद्रोह । जेनजी आन्दोलन बितेको २० वर्षको शासकीय अराजकताले हत्तुहैरान भएका नागरिकका प्रतिनिधिको स्वत:स्फूर्त विद्रोह त थियो नै तर आजसम्मका परिदृश्यहरू हेर्दा यो आन्दोलन न कुनै एउटा नेताले जन्माएको थियो न त आन्दोलनले खास नेता जन्माएको छ । बरू समयले आन्दोलनको नेता खोजिरहेको छ, म नै हुँ भनेर अघि आएकाहरूमा परिपक्वता देखिएको छैन । देखिन त २३ गतेको घटनापछि जनताको आँखाबाट एकाएक भूमिगत जस्तै भएका पुराना दलका ठूला नेताहरू पनि देखिएका छैनन् । तर उनीहरूसँग परामर्शमा हुनुपर्छ, पुरातन दलहरूका दोस्रो र तेस्रो पुस्ताका भनिएका नेताहरूले यदाकदा आफ्ना धारणाहरू सार्वजनिक गरिरहेका छन् । यतिखेर शायद उनीहरूलाई लागेको छ- जेनजीको यो आन्दोलन पानीको फोका जस्तै हो, आयो र गयो, हामीहरू फेरि हाम्रै श्रद्धेय र सम्मानित सभापति तथा अध्यक्षहरूकै नेतृत्वमा टाउको उठाउनेछौं । परिस्थितिले यतिविघ्न कोल्टो फेर्दा पनि नेताहरूले अन्तरात्मादेखि २० वर्षको गल्ती स्वीकार नगर्नु र आन्दोलनमा देशी–विदेशी तत्वको घुसपैठ देख्नुले उनीहरूभित्रको अहंकारको अन्त्य अझै पनि भइनसकेको प्रतीत हुन्छ । अहिलेसम्मको हिसाबअनुसार ७२ जना निहत्था जनताको ज्यान, राज्य र निजी क्षेत्रको बेहिसाब क्षति, सार्वजनिक अपिलहरूले संकेत गरेका राष्ट्रपतिको उकुसमुकुसको भाषा बुझ्न राजनीतिक दलहरूलाई पर्याप्त छ । उनीहरूले दु:खको यही घडीलाई आफूलाई पूराका पूरै सुधार्ने मौकाका रूपमा सदुपयोग गरेनन् भने नजाने मुलुकमा अरू कति आगो लाग्ने हो । त्यसैले लामो राजनीतिक अनुभव बोकेर आएका, उतारचढाव बेहोरेका, कहिले निरंकुशता ढालेका र कहिले निरंकुशताका पर्याय जस्तै बनेका राजनीतिक दलहरू सुध्रिने सबैभन्दा उपयुक्त समय यही हो, उनीहरूले सदुपयोग गर्नुपर्छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार