काठमाडौं – २४ भदौको जेनजी आन्दोलन नियन्त्रणबाहिर पुग्दा देशभरि आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनका क्रममा सरकारी संरचना मात्र नभई निजी व्यावसायिक समूहका उद्योग, व्यवसाय र निजी निवासमा समेत आगजनी र तोडफोड हुँदा व्यापक क्षति हुन पुग्यो । आगजनी र तोडफोडको प्रत्यक्ष असर उद्योगी एवं व्यवसायीलाई मात्रै परेको छैन, त्यसमा आश्रित १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ । आगजानी र तोडफोडका कारण भाटभटेनी, हिल्टन होटल, ह्यात होटल, चौधरी ग्रुप लगायतका अर्बौंको लगानी भएका निजी संस्थाहरू समेत तहसनहस भएका छन् । त्यसले गर्दा ती क्षेत्रमा काम गर्ने हजारौं श्रमिकहरूको रोजगारी गुम्ने जोखिम बढेको हो ।
आगजानी, तोडफोड र लुटपाटका कारण कति क्षति भयो र कतिको रोजागारी गुम्दै छ भन्ने आधिकारिक तथ्यांक आइसकेको छैन । तर, पनि ठुल्ठूला कम्पनीमा भएको क्षतिको आधारमा सरोकारवालाले तत्कालको अवस्थामा १० हजारभन्दा बढी श्रमिक घरमा बस्नुपर्ने अवस्था आएको देखाएका हुन् । भाटभटेनी सुपरमार्केटमा मात्रै ५ हजार श्रमिकको रोजगारी क्षणभरमै गुमेको छ । देशभरि रहेका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरूपमा ध्वस्त भएका छन् । प्रदर्शनकारीले भाटभटेनीका ती स्टोरमा तोडफोडपछि लुटपाट गर्दै आगजनी गरेका थिए । जसका कारण सबै स्टोर जलेर खरानी हुन पुग्यो ।
भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीईओ) पानु पौडेलका अनुसार जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीका कारण भाटभटेनीमा काम गर्ने ५ हजार जनाको रोजगारी गुमेको छ । एक निमेषमा यति ठूलो संख्यामा रोजगारी गुम्नुको अर्थ अर्थतन्त्रमा पनि क्षति पुग्नु रहेको पौडेलको भनाइ छ । कति सामान लुटियो, कति क्षति भयो, कति नगद लुटियो भन्ने यकिन विवरण निकाल्न कम्तीमा एक महिना लाग्छ,’ सीईओ पौडेलले भने, ‘मुख्य कुरो के हो भने एकै पटक सयौंको रोजगारी गुमेको छ । रोजगारी गुमेका ५ हजार जनाको व्यवस्थापन कसरी गर्ने भन्ने हामीलाई ठूलो चिन्ता छ ।साभार : अखप












