कारखाना ध्वस्त, के हुन्छ इम्बोस्ड नम्बर प्लेट जडान ?…..

काठमाडौँ –     लामो समयदेखि विवादित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना थियो । तर भदौ २३ र २४ गतेको आन्दोलनले यसको कार्यान्वयन अनिश्चिकालका लागि स्थगित भएको छ । आन्दोलन र तोडफोड तथा आगजनीले यातायात व्यवस्था विभागमा ठुलो क्षति पुर्‍याएको छ । गत साउन २० गते असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य जडान गर्ने निर्णय भएको थियो । जडान नगरे सवारी दर्ता, नामसारी र नवीकरण नै रोक्ने तयारीमा सरकार थियो । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा सङ्घ प्रदेश र स्थानीय तहका प्रतिनिधिसमेतको उपस्थितिमा मन्त्रालयको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको थियो । तर आन्दोलनकारीले विभाग नै जलाइदिएपछि इम्बोस्ड नम्बर उत्पादन गर्ने कारखाना उपकरणलगायत सबै पूर्ण रूपमा क्षति पुगेको छ । उत्पादन गरेर राखेका प्लेटहरू र जडानका लागि कार्यालयमा पठाएका प्लेटहरू जलेका छन् । कामै नलाग्ने अवस्थामा पुगेका छन् । मीनभवनस्थित विभागमा आगजनी हुँदा इम्बोस्ड नम्बर प्लेट उत्पादन प्लान्टका मेसिनहरू जलेर नष्ट भएका छन् । विभागमा रहेका सवारी लाइसेन्स छपाइ मेसिन, सर्भर लगायत पनि व्यापक क्षति पुगेको छ । यसबाहेक विभागले प्रदान गर्दै आएका सवारी लाइसेन्स छपाइ, नवीकरण, नयाँ दर्तालगायत सबै सेवा अनिश्चित अवधिका लागि स्थगित भएकाले सेवाग्राहीहरू थप मर्कामा पर्ने देखिएको छ । विभागका निर्देशक श्रीकान्त यादवका अनुसार क्षति यति ठुलो छ कि के–के बच्यो भन्ने लेखाजोखा गर्नुपर्ने अवस्था छ । कर्मचारीहरूले आवश्यक प्रयोजनका लागि बोकेर लगेका ल्यापटपबाहेक विभागका सबैजसो उपकरणहरूमा पूर्ण रूपमा नष्ट भएका छन् । के–के क्षति भयोभन्दा पनि अब के–के बच्यो भन्नेतिर जानुपर्ने उनले बताए । ‘जजसले ल्यापटप लिएर जानुभएको थियो, तीबाहेक बाँकी सबै ध्वस्त भए,’ उनले बताए । इम्बोस्ड नम्बर जडानका लागि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद मङ्सिर ११ गतेसम्म छ । र अब उक्त म्यादअघि यो पक्रिया कसरी अघि बढाउने/नबढाउने छलफल गरी निर्णय लिने उनले जानकारी दिए । अहिलेलाई स्थगित गरेका छौँ, हामीसँग उत्पादन गर्ने मेसिन छैन, सफ्टवेयर गइसक्यो त अब कसरी जडान गर्ने, कसरी अगाडि बढाउने भन्ने कुरामा छलफल भएको छैन,’ यादव भन्छन्, ‘सम्झौताअनुसार इम्बोस्ड नम्बर प्लेट जडानको अन्तिम म्याद मंसिरको ११ गते सम्म छ, यसअघि छलफल गर्छौँ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार