बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क – १ हटारिमास्थित घरमा आन्दोलनकारीहरूले भदौ २४ गते आगजनी र तोडफोड गरे । श्रीमती दीपा आचार्यले लामो समय शिक्षक पेसामा रहेर बनाएको उक्त घर आन्दोलनकारीले क्षणभरमै ध्वस्त पारे । केही दिन आफन्तकहाँ बसेपछि दीपा अहिले मुख्यमन्त्री निवास दाङ देउखुरी पुगेकी छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेका अनुसार उक्त घरमा मुख्यमन्त्री कहिलेकाहीँ मात्र जाने गरेका थिए । ‘अरू बेला आन्टी (दीपा) बस्नुहुन्थ्यो, घर नै ध्वस्त भएपछि बास खोज्नुपरेको छ,’ उनले रातोपाटीसँग भने । यस्तै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङ तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाँउमा रहेको घर पनि आन्दोलनकारीहरूले आगजनी गरेका छन् । घरमा क्षति भएपछि उनी पनि आफन्तकहाँ शरण लिन बाध्य भएका छन् । चौधरीकी बिरामी वृद्धा आमालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने परिवार आफन्तकहाँ छन् । ध्वस्त भएको घर पूर्ण रूपमा मर्मत नगरी बस्न नमिल्ने भएको छ ।यस्तै कपिलवस्तु, वाँणगंगा नगरपालिका–११ भडसामा रहेको नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपकुमार उपाध्यायको घर पनि भदौ २४ गते आन्दोलनकारीले जलाएका छन् । भडसामा रहेको पुख्र्यौली घर जलेपछि उपाध्याय कपिलवस्तुको तौलिहवा रहको अर्को घरमा बस्न बाध्य भएका हुन् । आन्दोलनकारीले बाणगंगा नगरपालिका वार्ड–८ मा रहेको माओवादी नेता एवं पूर्वमन्त्री चक्रपाणि खनाल (बलदेव), राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र केपी ओलीको सरकारमा भूमि व्यवस्था तथा सहरकारी मन्त्री रहेका बलराम अधिकारीको घर पनि जलाए । कपिलवस्तु वाँणगंगा नगरपालिका–८ स्थित जलाइएको घरमा अधिकारी दम्पती अहिलेसम्म पुगेका छैनन् । मर्मत नगरी बस्न नमिल्ने भएपछि श्रीमती बसुन्धरासँगै निवर्तमान मन्त्री अधिकारी काठमाडौँतिरै आफन्तको घरमा बसिरहेका छन् । अधिकारीका स्वकीय थानेश्वर अधिकारीका अनुसार घर मर्मत गर्न एक साता लाग्नेछ । माओवादी नेता एवं पूर्वमन्त्री चक्रपाणि खनालको घर पनि ध्वस्त छ । उनी आफन्तकहाँ बाहिरै बसिरहेका छन् । यस्तै नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री सुरेन्द्र आचार्यको घर पनि आन्दोलनकारीले तोडफोड गरेका छन् । बुद्धभूमि नगरपालिका–३ मा रहेको आचार्यको घर भने सरसफाइ गरेर बस्न मिल्ने बनाइएको छ । त्यसैगरी कपिलवस्तुस्थित एमाले नेता डम्बर शर्मा र जिल्ला भूमि आयोगका अध्यक्ष छविलाल पोख्रेलको पनि घर आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् ।साभार : रापा












