दसैँअघि नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी निःशुल्क सञ्चालन…..

काठमाडौँ –     चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दसैँअघि सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय र मन्त्रालयमातहत सडक विभागले दसैँअघि सञ्चालनमा ल्याउन निर्माण कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ । परीक्षणका रूपमा सञ्चालन गरिने भएकाले यात्रुवाहक सवारीलाई निःशुल्क प्रयोग गर्न दिइने आयोजनाले जनाएको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवाला निकायसँग बसेको बैठकमा व्यवसायीहरूले दसैँअघि नै सुरुङ सञ्चालन गर्न माग गरेका थिए । यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वमा सडक यात्रा सहज बनाउनका लागि आफूहरूले सुरुङ सञ्चालन गर्न माग गरेको रातोपाटीलाई बताए । ‘हामीले नागढुङ्गा– सिस्नेखोला सुरुङ दसैँअघि खुलाउन माग गरेका छौँ । यस विषयमा मन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ । हामीलाई आशा छ दसैँअघि यो सुरुङ सञ्चालनमा आउनेछ । छलफलमा भौतिक पूर्वाधार मन्त्रीलगायत मन्त्रालयका प्रतिनिधि, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायीमहासंघका प्रतिनिधि सहितको उपस्थित थियो । छलफलमा मन्त्री घिसिङले पनि जतिसक्दो छिटो सुरुङ सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । तर सडक विभागका महानिर्देशक विजय जैसीले दसैँमा नागढुंगा सुरुङमार्गलाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउने विषय भने अझै निर्णय हुन बाँकी रहेको बताए । महानिर्देशक जैसीले भने, ‘जापानी निर्माण व्यवसायीबाट सुरुङ मार्गको हस्तान्तरण गरेको छैन । सुरुङ मार्गको काम अझै निर्माण व्यवसायीकै जिम्मामा रहेको र एकपटक निर्माण व्यवसायीसँग बसेर सुरक्षा जोखिम लगायतका विषयमा छलफल गरेपछि मात्रै परीक्षण सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ । यातायात व्यवसायीहरूले दसैँमा ठुला सवारी साधन (बस) लाई सुरुङ मार्गबाट पठाउन पाए यात्रा छिटो हुने माग राखेका छन्, जसलाई भौतिक मन्त्रालय र विभागले सकारात्मक रूपमा लिएको महानिर्देशक जैसीको भनाइ छ । नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले पनि दसैँअघि सुरुङमार्ग सञ्चालनमा ल्याउने विषय छलफलकै क्रममा रहेको जानकारी दिए । हालसम्म सुरुङमार्गको परीक्षण कार्य प्रायः सकिएको र भित्री प्रणाली तथा उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको भने उनको भनाइ थियो । दसैँमा सवारीको चापलाई मध्यनजर गर्दै सर्वसाधारणलाई राहत दिनका लागि सुरुङमार्ग परीक्षणका रूपमा यात्रुबाहक सवारी सञ्चालन गर्न सकिनेबारे छलफल भइरहेको छ,’ नेपालले भने, ‘यद्यपि, कसरी र कुन ढाँचामा खोल्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन । परीक्षणको लागि खुला गरिने भएकाले यात्रुबाहक सवारी चल्न दिइने र शुल्क नलाग्ने आयोजना प्रमुखले स्पष्ट पारेका छन् ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार