काभ्रे – गत वर्षको असोज दोस्रो साता आएको बाढी पहिराेले क्षति पुर्याएको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परेको छ । दशैँको आगमनसँगै हजारौँ यात्रुले प्रयोग गर्ने सो सडक अहिले पनि धुल्लामे छ। बाढीले सडक पूर्ण रूपमा क्षति हुँदा यात्रा गर्न कठिन भएको हो ।
रोशीखोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे भएका कारण यात्रुहरूले सास्ती भोग्नु परेको हो । सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन । सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडक खण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।साभार : रापा












