काठमाडौं – निरन्तरको भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार बिहानबाट देशैभर फैलियो । दशैं मनाउन घर गएकाहरू कर्मथलो फर्कने क्रममा रहेका यात्रुहरू बीच बाटोमै परेका छन् । देशका मुख्य–मुख्य राजमार्ग नै अवरुद्ध छन् । भोलि (आइतबार) बाट कार्यालय खुल्ने र काठमाडौं आइपुग्नैपर्ने बाध्यतामा धेरै थिए । यसैबीच सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गर्यो । जसबाट अलपत्र परेका र दशैं मनाउन जन्मथलो पुगेकाहरूलाई चिन्ता कम परेको छ । सरकारले बिहानैदेखि विभिन्न युनिटहरू परिचालन गरेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखा, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, ऊर्जा एवं भौतिक मन्त्रालय लगायतको समन्वयकारी भूमिकाले अहिलेसम्म ठूलो मानवीय क्षति भने भएको छैन् । केही दिनदेखि नै जारी भएका मौसम बुलेटिन, मौसविद्हरूको निरन्तरको खबरदारी र विपद् व्यवस्थापनमा सरकारले देखाएको चनाखोले पनि भारी वर्षाका बीच सर्वसाधरणहरू सूचनाको पहुँचमै बस्न सकेका छन् ।
राजमार्ग अस्तव्यस्त:
उपत्यका प्रवेश गर्ने मुख्य राजमार्गहरू धेरैजसो अवरुद्ध भएका छन् । कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण लोकमार्ग, कुलेखानी सडकखण्ड, पासाङ ल्हामु सडकखण्ड लगायतका राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् । राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनलाई सकेसम्म चाँडो सुरक्षित स्थानमा लाने प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ । बीपी राजमार्गमा पर्ने रोशी खोलामा गत वर्ष असोजमा आएको बाढीपछि बनाइएका डाइभर्सनहरू धेरैजसो बगाएको छ । रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ८ को चारसयबेशी मुनीको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी ९ को नार्के र बोक्सीकुना, रोशी ११ को डालाबेशी, पिप्ले र डालावेशीको विचको भाग बुलढुंगा, रोशी ११ पिप्ले, रोशी १२ माम्तीमा बीपी राजमार्ग कटान भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा निरन्तर ढुंगा खस्ने क्रम जारी छ । यद्यपि त्यहाँ केही घण्टादेखि एकतर्फी सडक खुलाइएको थियो । अहिले चितवन भएर जाने सबै सवारी साधन चलाउन रोक लगाइएको छ ।
यात्रुलाई होटलमा छुट:
बीच बाटोमै अलपत्र परेका यात्रुहरूलाई होटल तथा खानाको प्रबन्ध पनि विभिन्न ठाउँमा मिलाइएको छ । काभ्रेको धुलिखेल, चितवनका विभिन्न होटल, कोशी राजमार्गका होटल लगायतका ठाउँमा व्यवसायीहरूले खाना तथा बासको व्यवस्था मिलाउन थालेका हुन् । गृह मन्त्रालयले पनि सहजीकरणका लागि स्थानीय प्रशासनलाई परिपत्र जारी गरिसहेको छ । सोही अनुसार ७७ वटै जिल्लामा आपतकालिन अवस्थामा सम्पर्क गर्ने नम्बर पनि सार्वजनिक गरेको छ । पाँचथर दुर्घटनामा ६ जनाले गुमाए ज्यान पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुलेको छैन ।
लाङटाङ घुम्न गएका ४ जना बेपत्ता:
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका छन् । भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो । बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् । उनीहरूसँगै घुम्न आएका अर्का रोज कर्माचार्य जानकारी गराएपछि अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ ।
विमानस्थल पनि प्रभावित:
अविरल वर्षाका कारण मौसम सुधान नभएपछि हवाइ उडान पनि प्रभावित बने । आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएका छन् । केही अन्तर्राष्ट्रिय उडानहरू पनि डाइभर्ट भएका छन् । विमानस्थलले नयाँ सूचना जारी नभएसम्म यात्राका लागि ननिस्कन भनेको छ । त्यस्तै, एयरलाइन्स कम्पनीहरूले पनि सम्बन्धित निकायसँग सम्पर्क गरेर आगामी यात्रा तय गर्न भनेको छ ।साभार : अखप