सरकार-दल संवाद खुलाउन राष्ट्रपतिको छहारी…..

काठमाडौं –     जेनजी आन्दोलनले राजनीतिक दलहरूको सत्ता ढलेपछि चुलिएका राजनीतिक संकट सुल्झाउन राष्ट्रपतिको छहारी लाग्नुपर्ने अवस्था आएको छ । संवैधानिक राष्ट्रपति भएपनि उनले पछिल्लो संकटमा संविधानको र राजनीतिक व्यवस्थाकै रक्षाका लागि भन्दै राजनीतिक संवादहरूलाई सहजीकरण गरिरहेका छन् । त्यसैको पछिल्लो कडि बनेको छ, बिहीबार शीतल निवासमा आयोजित सर्वदलीय बैठक । जेनजी आन्दोलनपछि चुलिएको संकटबाट बाहिर आउन फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएका थिए । संविधानमा पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुनै संवैधानिक प्रबन्ध थिएन । तर संविधान र व्यवस्थाको रक्षाका लागि भन्दै उनले ‘बडो जुक्तिपूर्वक’ सरकार निर्माण गरिदिए । संविधानमा केही घाउचोट लाग्दै बनेको सरकार आफ्नो म्यान्डेट अनुसार अघि बढोस् भन्ने उनको भनाइ थियो । तर यो करिब एक महिनाको अवधिमा न सरकारले चुनावका लागि मुख्य सरोकार राख्ने राजनीतिक दलहरूसँग सम्पर्क गर्‍यो न राजनीतिक दलहरू नै सरकारसँग संवादमा गए । बरु यो बीचमा प्रधानमन्त्री कार्की र राजनीतिक दलका नेताहरूले पटक पटक राष्ट्रपतिलाई भेटेर एकअर्काप्रतिका गुनासा र आशंकाहरू सुनाइरहेका थिए । सरकार र दलहरूबीच संवाद नै अघि नबढेपछि बिहीबार उनले शीतल निवासमा सर्वदलीय बैठक डाके । उक्त बैठकमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका दोस्रो तहका निर्णायक नेताहरू सहभागी थिए । दलहरूसँग सिधै आफूले संवाद गर्ने हच्किरहेकी प्रधानमन्त्री कार्कीले नै यो बैठकको सहजीकरण गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रपतिलाई करिब ४० मिनेट भेटेकी थिइन् । त्यसक्रममा दलहरूबीच राजनीतिक संवाद सरकारका तर्फबाट नभइरहेको भन्दै बाहिरबाट पनि आवाज उठिरहेको सन्दर्भ उठेको थियो । त्यसपछि राष्ट्रपतिलाई नै उनले पहिलो बैठकको सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । उनले यो कुरा बिहीबारको बैठकमा राजनीतिक दलहरूले शीतल निवासमा बैठक किन राखेको भन्दै प्रश्न गरेपछि स्पष्ट पार्दै भनेकी थिइन् । सरकार बनेको एक महिनासम्म दलहरूसँग कुनै संवाद नगरी चुनावी कार्यक्रमहरू समेत बाहिर आइसकेको छ । त्यसका कारण चिढीएका दलहरूले बिहीबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । चुनावमा जाने निर्णय गरिनसकेका कांग्रेस एमालेका नेताहरूले त सरकारको बैधानिकतामै सुरुमा प्रश्न उठाएका थिए । तर जनतामा जाने कुरामा आफूहरू विपक्षमा नरहे पनि अहिलेको वातावरण र सरकारको शैली गलत रहेको धारणा राखेका थिए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार