काठमाडौं – निर्वतमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनको एजेण्डा उठाउनेहरुलाई पेलेरै केन्द्रीय कमिटी बैठक अगाडि बढाएका छन् । ललितपुरको जावलाखेलस्थित एक पार्टी प्यालेसमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको वकालत गर्नेहरूलाई लिखित प्रस्ताव, उद्घाटन मन्तव्य, बैठक सञ्चालन प्रक्रिया लगायतबाट अस्वीकार गरेका छन् । सरकारी सुरक्षा बाहेक भूतपूर्व सैनिक तथा प्रहरी र युवा संघका कार्यकर्ताहरूको स्कटिङमा जावलाखेल पुगेका ओलीले बैठक उद्घाटन गर्दै फेसबुकबाट मागिएको राजीनामा नदिने अडान लिए । पार्टीभित्र पनि केही सुरबीरहरुलाई एउटा लहर चलेको देख्छु, लहड चलेको दुख्छु– अध्यक्षले छोड्नुपर्छ,’ ओलीले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन । यो कमिटीले भन्ने हो । ओलीले यति अडान लिइसक्दासम्म सार्वजनिक मागकै आधारमा राजीनामा नदिने प्रष्ट संकेत दिइसकेका थिए । जेनजी पुस्ताको आन्दोलन पछिको एक महिनासम्मका गतिविधि, नेताहरूसँगको संवाद र बैठकहरू मार्फत् नेतृत्व नछोड्ने प्रष्ट पारिसकेका ओलीले केन्द्रीय कमिटी बैठकलाई पनि त्यही सन्देश दिए । केन्द्रीय कमिटी सदस्यहरूले बैठकमा राजीनामा मागे दिने, तर सार्वजनिक वकालतलाई अस्वीकार गर्ने ओलीले अडान लिए । आम सञ्चार माध्यममा अन्तर्वार्ता दिने नेताहरूको समेत खिसिट्युरी गर्न पछि नपरेका ओलीको चाहना बुझेकाहरूले बारम्बार तालीले स्वागत गरेका थिए ।साभार : अखप