फुट्यो एकीकृत समाजवादी…..

काठमाडौं –     चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए सँगै सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले त्यसमा विमति राखेका छन् । धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल लगायतले यथास्थितिमा एकता गर्न नसकिने अडान लिएका थिए । पदाधिकारी बाहेक १२३ जनाले बोलेको केन्द्रीय कमिटी बैठकमा पनि मतभेद देखिएको थियो । वरिष्ठ नेता वेदुराम भुसालले माओवादी केन्द्र, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वका नेकपाबाट फुटेको चरन पुन, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकता गर्ने गृहकार्य चलिरहेको ब्रिफिङ गरेका थिए । यही प्रस्तावमा केन्द्रीत रहेर नेताहरुले धारणा राखे । ‘यथास्थितिमा एकता गर्नु हुँदैन भन्ने एउटा हिस्सा उभियो, तर धेरैले एकतामा जानुपर्ने राय राखे,’ एक पोलिटब्यूरो सदस्य भन्छन् । एकताको प्रस्तावमा मुख्य असहमति पूर्वप्रधानमन्त्री खनाल र महासचिव भूसालले राखेका थिए । दुवैले एकता संख्या बढाउनलाई मात्र गरिन नहुने विश्लेषण सुनाएका थिए । तर यसअघि जस्तो भिन्न मत राख्नेहरुबीच अध्यक्ष नेपालले सहमतिको प्रयत्न गरेनन् । एकैपटक अथवा रातारात एकताको निर्णय नभएकाले धेरै व्याख्याको आवश्यकता नपर्ने निष्कर्ष उनले सुनाए । यो सुटुक्क र व्यक्तिगत रुपमा एकता गरेको पनि होइन । सचिवालय र स्थायी कमिटीको निर्णय अनुसार वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया अगाडि बढाइएको हो,’ पार्टीभित्रको अहसमतिले एकता नरोकिने अडान अध्यक्ष नेपालले सुनाए । एकताको बाँकी निर्णय चाहिँ सचिवालय बैठकले गर्ने जानकारी पनि दिए । ‘केही जोडकोण मिलाउन बाँकी छ, सचिवालय बसेर त्यसबारे निर्णय हुन्छ,’ माधव नेपालले भने । यसपछि आफ्नो प्रतिवेदन पारित गराउन अनुमति मागेका थिए । तर पार्टीका सम्मानित नेता झलनाथ खनालले एकताको निर्णय नमान्ने अडान लिए । ‘हाहा हुहुले हुँदैन । मैले ३० बुँदाको दस्तावेज रोखेको छु,’ खनालले भन्दै थिए । तर यतिमै माइक काटियो र बैठक सकियो । ‘माइक काटिएपछि बैठक सकिएको जानकारी भयो, हामी हिड्यौं,’ एक नेताले भने ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार