भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दी धेरै…..

हेटौँडा –     मकवानपुरको भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दीको संख्या उच्च रहेको पाइएको छ । नेपालका प्रमुख कारागारहरूमध्ये एक, भीमफेदी कारागारमा हाल १ हजार २३ जना कैदीबन्दी छन् । कारागार कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैदीबन्दीहरू संलग्न अपराधको प्रकृति हेर्दा लागुऔषध, जबरजस्ती करणी, र कर्तव्य ज्यानमा अपराधका घटनाका कैदी बढी छन् । कारागारको तथ्यांक अनुसार सबैभन्दा धेरै लागुऔषध मुद्दामा स्वदेशी र विदेशी गरी ३८० जनाले कैद भुक्तान गरिरहेका छन् । लागु औषधपछि जबरजस्ती करणी मुद्दाका कैदीबन्दीहरूको संख्या छ । उक्त अपराधका २९६ जना कैदीबन्दीले सजाय भोगिरहेका छन् । पछिल्लो समय लागुऔषध दुव्र्यसनी, लैगिंक हिंसा र यौनजन्य अपराध बढिरहेको र न्यूनीकरणका लागि थप सामाजिक तथा कानुनी पहलको आवश्यकता उक्त तथ्यांकले देखाएको छ । कारागारमा कर्तव्य ज्यान मुद्दाका १४९ जना छन् । उक्त तीन प्रमुख अपराधमा संलग्न कैदीबन्दीको संख्या मात्रै ८२५ रहेको कारागारको विवरणमा उल्लेख छ । यहाँ लागुऔषध, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मद्दाका कैदीबन्दी संख्याको ८० प्रतिशत छ । तथ्यांकअनुसार अन्य अपराधहरूमा चोरीमा ४४ जना, डाँकामा २८ जना, मानव बेचबिखनमा १५ जना, र ज्यान मार्ने उद्योगमा १२ जना कैदीबन्दी छन् । हातहतियार, संगठित अपराध, र बैंकिङ कसुरजस्ता मुद्दामा पनि कैदीबन्दीहरू कारागारमा छन् । कुल कैदीबन्दी तथ्यांकअनुसार यहाँ ९९० पुरुष र ३३ महिला छन्, जसमा ७० जना विदेशी नागरिकसमेत छन् । उनीहरू लागुऔषध, चोरी र जबरजस्ती करणीजस्ता मुद्दामा कैद भोगिरहेका कारागारको तथ्यांकमा उल्लेख छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार