काठमाडौँ – सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष करिब ७ घण्टा १५ मिनेट बयान दिएका छन् । बयान सकेर उनलाई कारागार फर्काइएको छ । बुधबार मध्यान्ह १ बजे उनलाई नख्खु कारागारबाट सिंहदरबार स्थित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको थियो । जेनजी प्रदर्शनमा भएको प्रहरी दमन र देशभरको उच्छृङ्खल गतविधिबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले छानबिन गरिरहेको छ । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र अधिवक्ता विन्देश्वरी भण्डारी सदस्य छन् । भदौ २४ मा लामिछाने नख्खु कारागारबाट निस्केका थिए । त्यसपछि देशभर कारागारको गेट तोडेर कैदीबन्दी निस्कने र कारागार भित्र आगजनी गर्ने लहर चलेको थियो । आयोगका पदाधिकारीहरूले लामिछानेसँग त्यसबारे बयान लिएका छन् । लामिछाने जेलबाट निस्केपछि आफूलाई रिहा गरिएको पत्र सार्वजनिक गरे । पत्रबारे प्रश्न उठेपछि उनी फेरी कारागार फर्केका थिए । आयोगका पदाधिकारीले त्यसबारे प्रश्न गरेका छन् । त्यसबेला सार्वजनिक गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो । पत्रमा भनिएको थियो, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ । यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो । गत भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले डेढ घण्टापछि आएर आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् ।साभार : रापा












