काठमाडौं – जेनजी आन्दोलनपछि अवैधानिक बाटो हुँदै युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा नेपालीको लगानी बढेको छ । जेनजी आन्दोलनमा उद्योगी–व्यवसायीका व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गरिएपछि पूँजी पलायन बढको हो । त्यसै पनि नेपालको औपचारिक र अनौपचारिक अर्थतन्त्रको आकारमा खासै धेरै अन्तर छैन । नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको एक अध्ययन अनुसार अनौपचारिक अर्थतन्त्र हिस्सा ४२ प्रतिशतको हाराहारी छ भने औपचारिक अर्थतन्त्र हिस्सा ५८ प्रतिशत छ । यस्तो अवस्थामा पूँजी पलायन जोखिम सधैं हुने भए पनि जेनजी आन्दोलनपछि निराश उद्योगी–व्यवसायीको चिया गफमा समेत आफ्नो सम्पत्ति सुरक्षित गर्न पनि विदेश लैजानुपर्ने तर्क गर्ने गरेका छन् । नेपालमा लगानी गर्ने, उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने भनेर व्यक्तिगत सम्पत्ति नै जोखिममा राख्न नहुने एक व्यवसायीले बताए । पछिल्लो समय व्यावसायिक घरानाले समेत विदेशमा लगानी गर्ने योजना सहित काम सुरु गरेका छन्,’ ती व्यवसायीले भने, ‘व्यवसायी मात्र नभई व्यक्तिगत रूपमा पनि सम्पत्ति जोगाउन विदेश लैजानै पर्ने भयो । ती व्यवसायीका अनुसार व्यवसायीले मात्र नभई सम्पत्ति भएका सर्वसाधारणले समेत दुबईमा लगानी गर्न थालेको उनले बताए । जेनजी आन्दोलन लगत्तै पूर्व अर्थमन्त्रीहरूको फोरमले पनि पूँजी पलायनको खतरा उच्च दरमा बढेको निष्कर्ष निकालेको थियो । फोरमको छलफलमा व्यक्तिगत सम्पत्ति समेत जोखिममा परेपछि स्वदेशको सम्पत्ति बेचबिखन गरेर विदेश लैजाने क्रम बढ्न थालेको भन्दै उनीहरूले स्वदेशमा लगानी गर्ने वातावरण विकास गर्न सरकारलाई सुझाएका थिए । समाजिक सञ्जाललहरूमा देखिएका विज्ञापन हेर्दा पनि ती व्यवसायीको सामूहिक गफ तथा पूर्व अर्थमन्त्रीहरूको चासोमा केही हदसम्म विश्वसनीयता रहेको देखिन्छ । सामाजिक सञ्जाल फेसबुकमा दुबईका विभिन्न प्रपर्टीमा लगानीका लागि अफर राख्दै विज्ञापन गरेको देखिन्छ । नेपालको झन्डासमेत प्रयोग गरेर विज्ञापन बनाइ सामाजिक सञ्जालमा प्रचार प्रसार हुँदै आएको छ । विज्ञापनमा दुबईको रियलइस्टेट (घरजग्गा) मा लगानी गर्दा हुने फाइदा समेत उल्लेख गरिएको छ । दुबईमा अपार्टमेन्ट खरिद गर्दा वार्षिक भाडा आम्दानी, दुबईको गोल्डेन भिसा, सम्पत्ति र आयकरमा छुट लगायत अफर छन् । ती सम्पत्तिको मूल्य भने साढे २ करोड देखि ५ करोड रुपैयाँसम्मका छन् । केही नेपालीले दुबईमा सम्पत्ति खरिद गर्न मध्यस्थकर्ताका रूपमा काम समेत गर्ने गरेका छन् । नेपालीलाई दुबईमा अपार्टमेन्ट खरिद गराउँदै आएका एक मध्यस्थकर्ताका अनुसार पनि पछिल्लो समय नेपालका धनाढ्य परिवारले आफ्नो सम्पत्ति सुरक्षा गनै भन्दै दुबईमा अपार्टमेन्ट खरिद गर्ने क्रम बढेको छ । उनका अनुसार पछिल्लो समय करिब १० अर्ब रुपैयाँभन्दा धेरै दुबईमा लगानी भएको छ । नेपालीले विदेशमा लगानी गर्न कानुन अनुसार सहज छैन । विदेशमा लगानी गर्नै पाइँदैन भन्दा पनि फरक पर्दैन । दुबईमा बढेको लगानी गैरकानुनी हो । भारतसँगको खुला सीमाका कारण गैरकानुनी बाटोबाट नेपालीले दुबईमा सहज लगानी लैजाने गरेको देखिन्छ । त्यसका लागि उनीहरूले हुन्डी तथा भारतसँगको खुला सीमा धेरै प्रयोग गर्ने गरेको ती मध्यस्थकर्ताको भनाइ छ । विदेशमा लगानी बढेको विषयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी छैन । दुबईमा अपार्टमेन्ट किन्न नेपालमा विज्ञापन बढिरहेको र नेपालीको लगानी पनि बढेको विषलाई लिएर राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितसँग जिज्ञासा राख्दा त्यस विषयमा राष्ट्र बैंकमा कुनै जानकारी नभएको बताए । विदेशी विनिमयका सन्दर्भमा राष्ट्र बैंकले हेर्ने भएकाले विदेशमा अपार्टमेन्ट नै खरिद गर्न सकिने सटही सुविधा उपलब्ध नहुने भएकाले त्यस सम्बन्धमा कुनै पनि प्रसंगमा कुरा नउठेको उनको भनाइ छ । त्यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरीमा समेत विदेशमा लगानी बढेको विषयलाई लिएर जिज्ञासा राख्दा दुवै निकायलाई कुनै पनि जानकारी नभएको पाइयो । विदेशमा लगानी बढेको भनेर प्रहरीका कुनै पनि निकायमा छलफल हुने वा उजुरी पनि नआएको दुवै निकायका प्रवक्ता बताउँछन् । सरकारी नियकायको मौनता देख्दा विदेशमा गैरकानुनी लगानी बढाउन झनै मद्दत पुगेको देखिन्छ । विदेशमा सम्पत्ति खरिद गर्नु गैरकानुनी भएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक वासुदेव अधिकारीले बताए । पछिल्लो समय दुबईमा नेपालीले खरिद गरेको अपार्टमेन्ट खरिद भनेको क्यापिटल फ्लाइट तथा मनी लाउन्डरिङ हो । विदेशमा लगानी बढेको विषयमा सरकारी निकाय पनि चनाखो हुनुपर्ने उनले सुझाए । साथै, हुन्डी कारोबारलाई पनि निरुत्साहित गर्नुपर्ने उनले सुझाए ।साभार : अखप












