काठमाडौं – प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले अघि सारेको एजेन्डालाई साथ दिने गरी संस्थापन खेमाको एउटा समूहले हस्ताक्षर संकलन थालेपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेको अगुवाइमा आइतबारदेखि सुरु भएको अभियानले संस्थापन र संस्थापनइतर दुवै समूह तरंगित भएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५औं महाधिवेशन भ्याइन्छ कि भ्याइन्न भन्ने गलफतीमै डेढ महिना बढी बिताइसकेको कांग्रेसमा अब प्रतिनिधिसभाको पुनर्स्थापनाको विषय पनि विवादको नयाँ मसला बनेको हो । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय ठोस लिनुपर्ने भन्दै दबाब सिर्जनाका लागि तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन अभियान चलाएपछि कांग्रेसमा आइतबारदेखि थप विवाद चुलिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो । कार्यसम्पादन समितिको निष्कर्षका आधारमा न्यायालयको ढोका ढकढक्याउन आफूले ‘सिग्नेचर क्याम्पेनिङ’ सुरुवात गरेको नेता घिमिरेको भनाइ छ । कार्यसम्पादनले सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको अवस्थामा केन्द्रीय कार्यसमिति बैठकबाट पुनर्स्थापनाको निर्णय गर्नुपर्ने उनको तर्क छ । संस्थापन पक्षले धोबिघाटमा आयोजना गरेको दुई दिने आन्तरिक छलफलमा विशेष अधिवेशनमा जान नसकिने, चुनावलाई प्राथमिकता दिने र आगामी वैशाखमा महाधिवेशन गर्ने ‘बटमलाइन’ तय गर्दै नेताहरूलाई संसद् पुनर्स्थापनाबारे नबोल्न निर्देशन दिएको अवस्थामा घिमिरेले हस्ताक्षर संकलन सुरु गरेका हुन् । ललितपुरको धोबिखोला बैठक (११–१२ कात्तिक) मा दिइएको निर्देशनअनुसार संस्थापन पक्षीय अधिकांश नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा २१ फागुनको निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।साभार : अखप












