काठमाडौं – नेकपा एमालेको मंसिर अन्तिम साता हुने एघारौं महाधिवेशनमा नेतृत्व चयन चुनावी प्रतिस्पर्धाबाट हुने लगभग निश्चित भएको छ । चारपटक प्रधानमन्त्री बनिसकेका केपी ओलीलाई तेस्रोपटक अध्यक्षमा रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिने निश्चित छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी छन् । ओलीसँग आफैं भिड्ने मनसायमा रहेकी भण्डारीको पार्टी सदस्यता नै नवीकरण नगरिएपछि उनले पोखरेललाई साथ दिने निर्णय लिएकी हुन् । पूर्वराष्ट्रपति भण्डारी बाहेक उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेहरूको समेत साथ पाएका पोखरेलले वक्तव्य जारी गरेरै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने सन्देश दिएका छन् । २८ कात्तिकमा वक्तव्य जारी गरी पाखरेलले जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा पार्टीका निष्कर्षहरू सच्याउनुपर्ने देखि निर्भयका साथ प्रतिनिधि चयन गर्न समेत अपिल गरेका छन् । जबजको संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयकासाथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरुलाई म अपिल गर्दछु,’ पोखरेलले लेखेका छन् । जेनजी आन्दोलनको भावनालाई सम्बोधन गर्नुपर्ने सन्दर्भसहित दोस्रो विधान महाधिवेशनको निष्कर्ष सच्याउनुपर्ने तर्क गरेर पोखरेलले ओलीलाई चुनौती दिएको बुझ्न सकिन्छ । राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन्, (रहेनन्) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्दैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,’ पोखरेलले लेखेका छन् । जेनजी आन्दोलनपछि परिस्थिति र निष्कर्ष बदलिएको तर्कमा मात्र सीमित नरही पोखरेलले आफ्नो राजनीतिक योगदान पनि सम्झिएका छन् । अर्थात् बदलिएको परिस्थितिमा नेतृत्व लिन आफू योग्य रहेको पोखरेलले सन्देश दिएका छन् ।साभार : अखप












