काठमाडौं – आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना परिचालनका लागि राष्ट्रपति कार्यालयबाट स्वीकृत भयो । मन्त्रिपरिषद्ले गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमा स्वीकृत गरेसँगै सेना परिचालनको बाटो खुलेको छ । निर्वाचनका लागि सेना परिचालन गर्न यसअघि चरणबद्ध कामहरू भएका थिए । ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलमा सुरक्षा निकायका प्रतिनिधिहरू समेत थिए । कार्यदलले पेश गरेको ‘एकीकृत निर्वाचन सुरक्षा योजना २०८२’ गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिले ३० कात्तिकमा पास गर्यो । यो सुरक्षा योजनामा निर्वाचनको अवधिमा सुरक्षा निकायहरू कसरी परिचालन हुने भन्नेबारे उल्लेख छ । यसका साथै बैठकले नेपाली सेना परिचालनको प्रस्ताव गर्ने निर्णय समेत गरेको थियो । यो प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्मा पुगेको थियो । ४ मंसिरमा सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले त्यसलाई पारित गर्दै निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसअनुसार मन्त्रिपरिषद्ले सेना परिचालनको निर्णय गरेर स्वीकृतीका लागि राष्ट्रपति कार्यालयसमक्ष पेश गरेको थियो । राष्ट्रपति कार्यालयबाट समेत यो प्रस्ताव स्वीकृत भएपछि अब सेना परिचालनका लागि बाटो खुलेको छ । योसँगै अब नेपाली सेना कसरी कहिलेबाट परिचालन हुने भन्ने जिज्ञासा उत्पन्न भएको छ । यसबारे हामीले नेपाली सेनासँग समेत सोधखोज गरेर यो रिपोर्ट तयार पारेका छौं ।
कति सेना परिचालन हुन्छन् ?
चुनावकै लागि भनेर १ लाख ३२ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरिएको छ । यो छलफलकमै क्रममा रहेकाले केही निर्णय भएको छैन । म्यादी प्रहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) र नेपाली सेना समेत निर्वाचनमा परिचालन हुनेछन् । ७९ हजार नेपाल प्रहरी, ३७ हजार सशस्त्र प्रहरी ३ हजार गुप्तचर र करिब १ लाख नेपाली सेना छन् । उनीहरूमध्ये कति सेना निर्वाचनमा खटिनेछन् भन्नेबारे अहिलेसम्म केही निर्णय नभएको जंगी अड्डाले बताएको छ । कार्यालय सुरक्षा, महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानहरूको सुरक्षा लगायत, मिसनमा रहेका सेना समेतको संख्या घटाएर आवश्यक जनशक्ति परिचालन हुने सेनाको तयारी छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट पनि कति जनशक्ति परिचालन हुन्छन् भन्ने अहिलेसम्म केही यकिन भएको छैन ।साभार : अखप












