काठमाडौं – नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको सय रुपैयाँको नोटको भारतीय सञ्चार माध्यमहरूले खुलेर विरोध गरे । त्यसमा प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पनि सामेल देखियो । उसले १०० रुपैयाँको नोटमा नेपालले भारतको विभिन्न इलाकालाई आफ्नोमा पारेको दाबी गरेको छ । यस्तो कार्य सहन नसकिने र मोदी सरकारले नेपाललाई कडा जवाफ दिनुपर्ने’ भारतीय कांग्रेसको आधारिक सामाजिक सञ्जाल अकाउन्ट एक्समा उल्लेख छ । एउटा सार्वभौम देशको नोटलाई विरोध गर्न उनीहरूले दुई वटा कारण अघि सारेका छन् । पहिलो, त्यसमा प्रकाशित नक्सा र दोस्रो, नोट छाप्ने कम्पनी । सयको नोटमा नेपालले पहिलो पटक नक्सा प्रयोग गरेको होइन । नेपाल राष्ट्र बैंकले रु. ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट निष्कासन गर्दै आएको छ । त्यसमध्ये रु. १०० को नोटमा नेपालको नक्सा छ । त्यही नक्सालाई नयाँ नोट छाप्दा अद्यावधिक मात्र गरिएको बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘हामीले नोटमा पहिला नै भएको नक्सालाई संविधान र नेपाल सरकारको निर्णय अनुसार अद्यावधिक मात्र गरेका हौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले नोट डिजाइनको अधिकार राष्ट्र बैंकलाई दिए पनि डिजाइन र साइज परिवर्तन गर्नुपर्दा नेपाल सरकारसँग स्वीकृत लिनुपर्दछ । २०८१ वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले रु.१०० को नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार नेपालको नक्सा राखेर नोट छापेर बजारमा पठाएको बैंकले जनाएको छ । चुच्चे नक्सा अंकित दुई रुपैयाँको सिक्काको अगाडि र पछाडिको भाग
त्यसअघि २०७७ भदौ २९ मा सरकारले राष्ट्र बैंकलाई रु. एक र दुई दरका सिक्का टकमरी गरेर चलन चल्तीमा ल्याउन स्वीकृति दिने निर्णय गरेको थियो । जस अनुसार राष्ट्र बैंकले २०७८ पुस ३० मा दुई रुपैयाँ र त्यही साल फागुन २५ गतेदेखि एक रुपैयाँ सिक्का बजारमा पठायो । दुवै सिक्कामा नेपालको नक्सा छ । २०७७ जेठ २ गते ल्याएको सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नयाँ नक्सा (बोलीचालीमा चुच्चे नक्सा) प्रकाशन गर्ने उल्लेख थियो । जेठ ७ गते चुच्चे नक्सालाई निशान छापमा राख्ने गरी संविधान संशोधन गर्न संसद्मा विधेयक दर्ता भयो । जेठ ३१ गते संसद्बाट विधेयक सर्वसम्मत् पारित भएपछि सरकारले हरेक दस्तावेजमा पछिल्लो नक्सा प्रयोग गर्दै आएको छ ।साभार : अखप












