रसुवागढी नाका खुल्दै, कोरोला बन्द हुँदै…..

काठमाडौँ –      नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मानिने उत्तरी नाका रसुवागढी छिट्टै सञ्चालनमा आउने भएको छ । गत असार २४ गते चीनतर्फबाट आएको बाढीले मितेरी पुल बगाएपछि यो नाका पाँच महिनायता अवरुद्ध छ । हाल चीन सरकारले निर्माण गरिरहेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेसँगै नाका पुनः खुल्ने निश्चित भएको हो । उता, रसुवा र तातोपानीको विकल्पका रूपमा प्रयोग भएको मुस्ताङको कोरोला नाका भने अब बन्द हुने चरणमा छ ।

बेलिब्रिज निर्माण अन्तिम चरणमा:

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने चरणमा छ । यही डिसेम्बर ५ देखि नाका सञ्चालनमा आउने चर्चा चले पनि अधिकारीले ठ्याक्कै मिति भने तय भइनसकेको स्पष्ट पारेका छन् । अहिले निर्माण सम्पन्न हुने चरणमा छ । निर्माण सकिएपछि यसको प्राविधिक भारवाहन क्षमता (लोड क्यापासिटी टेस्ट) परीक्षण हुन्छ । परीक्षण सफल भएपछि मात्र चिनियाँ पक्षले नेपाल सरकारलाई पुल हस्तान्तरण गर्छ । पुल हस्तान्तरणपछि नेपाल र चिनिया अधिकारीबिच हुने समकक्षी बैठकले नाका सञ्चालनको आधिकारिक मिति तय गरी सञ्चालन हुने उनको भनाइ छ । यसकारण केही समय लागे पनि अहिले पुल निर्माण अन्तिम चरणमा रहेको र शीघ्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको सहायक सीडीओ अधिकारीले जानकारी दिए । बाढीका कारण मितेरी पुल क्षतिग्रस्त भएपछि चिनियाँ पक्षले आफ्नै लगानी र प्रविधिमा यो बेलिब्रिज बनाएको हो । यस्तै गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाका सूचना अधिकारी इन्जिनियर अमरेन्द्र कुमार यादवले पनि बेलिब्रिज अन्तिम चरणमा पुगेको बताए । तर बेलिब्रिज कहिले सञ्चालनमा आउँछ भन्नेबारे चिनिया पक्षले आधिकारिक जानकारी दिइनसकेको उनको भनाइ छ । मौखिक रूपमा डिसेम्बर ५ भित्र सञ्चालनमा ल्याउने भने पनि आधिकारिक जानकारी नआएकाले यसैदिन सञ्चालन हुन्छ भनेर भन्न सकिन्न।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार