५० वर्षपछि भत्कियो हेटौंडा बजार, के थियो विवाद ?…..

हेटौंडा –    पूर्वाधार विकासको महत्त्वपूर्ण कडि मानिने सडकसँग जोडेर हेटौंडालाई हेर्ने दुई रोचक प्रसङ्ग छन् । एउटा, दक्षिण एसियाकै पहिलो सुरुङ भएको शहर र अर्को गल्लीका जस्ता साँघुरो सडक भएको मुख्य बजार । बलियो आर्थिक क्षमता भएको भारतले समेत बनाउन नसकेको सुरुङमार्ग नेपालमा, त्यो पनि हेटौंडामा थियो भनेर थाहा पाउनेले बजारको साँघुरो मुख्य सडकलाई लिएर पनि लख काट्ने गर्थे । देशमा करिब दर्जन सुरुङमार्ग निर्माणका योजना छन् । तर, हालसम्म देश सुरुङसहितको सडक सञ्जालमा जोडिएको छैन । तर, हेटौंडामा भने सन् १९१७ मै दुई वर्ष लगाएर बनाइएको सुरुङमार्ग थियो । जहाँबाट साना सवारी साधन चुरेपहाड छलेर भित्रि मधेश आउँथे । बजारको सडक भने दुई वटा ट्रक मुस्किलले पास हुने अवस्थाका थिए । २०११ सालपछि बस्ती बस्न थालेको हेटौंडा ७० वर्षसम्म देशकै प्रमुख शहर बन्यो । तत्कालीन मध्यमाञ्चल क्षेत्रको सदरमुकाम थियो । अहिले देशका सात प्रदेशमध्ये सबैभन्दा ठूलो बागमती प्रदेशको राजधानी छ । देशको मध्यभागको शहर, दुवै राज्य व्यवस्थाको राजधानी हेटौंडाको विगत जति बलियो थियो, त्यति नै कमजोर बन्दै गएको थियो अहिलेको मुख्य सडकको अवस्था । हेटौंडाको मुख्य सडक विस्तार गर्ने विषय उठेको ५० वर्ष भइसकेको छ । तर, कार्यान्वयनमा आउन सकेको थिएन । सार्वजनिक सडक ऐन, २०३१ जारी भएर २०३३ सालमा पहिलो पटक सरकारले राजपत्रमा सडक सीमाबारे सूचना प्रकाशित गरेको हेटौंडाका पुराना जनप्रतिनिधिहरू बताउँछन् । ५० वर्ष पूरानो सडक सीमाको विवाद आज शनिबार आएर करिब टुंगिएको छ । सडक डिभिजन हेटौंडाले एसियन होइवे निर्माणका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा निर्मित घरटहरा र संरचना हटाएर सडक विस्तार सुरु गरेसँगै ५ दशकको विवाद, अन्यौलता अब हटेको हो । सडक डिभिजनले बिहान ५ बजेदेखि आधा दर्जन ठूला उपकरण प्रयोग गरेर बजारका घरटहरा भत्काएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सडक डिभिजन हेटौंडाले सडक सीमाको केन्द्ररेखादेखि २५/२५ गज (७५/७५ फिट) भित्र यसअघि नै रेखांकन गरिएका घरटहरा र संरचनाहरू भत्काएको हो । रातोमाटेदेखि कर्रा चोक, मेनरोड, बुद्धचोक, राप्तिरोड, पिपलबोट हुँदै चौकिटोल क्षेत्रका सडक सीमाभित्र निर्मित घरटहराका भत्काएर क्षतविक्षत बनाइएको छ ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार