पोखरा विमानस्थल निर्माण अनियमिततामा बहुदलीय संलग्नता…..

काठमाडौं –        प्रशासनिक नेतृत्व र कर्मचारीहरूलाई मात्र बढ्ता निशाना बनाउने गरेको आरोप खेप्दै आएको अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको ८ अर्ब भन्दा बढीको अनियमिततामा ठूलो संख्यामा उच्च राजनीतिक नेतृत्वमाथि पनि भ्रष्टाचारको मुद्दा लगाएको छ । भ्रष्टाचारको मुद्दा लागेकाहरूमा वर्षौंदेखि सत्ताको हालीमुहाली गरिरहेका कांग्रेस एमाले र तत्कालीन माओवादीबाट मन्त्री बनेकाहरु छन् । अख्तियारले एउटै भ्रष्टाचार मुद्दामा यति धेरै पूर्वमन्त्री र सचिवहरुविरुद्ध मुद्दा चलाएको यो विरलै घटना हो । कांग्रेसबाट पटक-पटक अर्थमन्त्री बनेका डा. रामशरण महतमाथि मुद्दा लागेको छ । उनी छ पटक मन्त्री बनेका थिए । भ्रष्टाचारको मुद्दा खेप्ने भीम आचार्य र दीपक अमात्य एमालेबाट मन्त्री बनेका थिए । त्यस्तै पोस्टबहादुर बोगटी माओवादीबाट मन्त्री बनेका थिए । भ्रष्टाचार मुद्दा लाग्ने रामप्रसाद श्रेष्ठ पनि २०७० सालको खिलराज रेग्मीको चुनावी सरकारमा माओवादीकै सिफारिसमा मन्त्री बनेका व्यक्ति हुन् । बोगटीको निधन भइसकेकाले उनको मुद्दा पूर्वसांसद समेत रहेकी पत्नी राममाया बोगटीमाथि लगाइएको छ । पूर्वमन्त्रीहरुमध्ये रामकुमार श्रेष्ठ यसअघि नै गैरकानूनी सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका छन् । उनीमाथि पतञ्जली जग्गा प्रकरणमा पनि मुद्दा चलिरहेको छ । डा. महत बाहेक चार जना पूर्व पर्यटनमन्त्री हुन् । आयोगले यी पाँच पूर्वमन्त्रीहरु, ९ जना पूर्वसचिवहरू, २ चिनियाँ कम्पनीका प्रतिनिधिसहित ५५ जना र एक चिनियाँ निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो । हालसम्म दायर भएकोमध्ये विगोका दृष्टिकोणले कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दापछि यो दोस्रो ठूलो मुद्दा हो । गतवर्ष संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा झण्डै १० अर्ब अनियमितता भएको भनी तयार पारेको प्रतिवेदन अख्तियारमा पठाएको थियो ।

को–को माथि मुद्दा चल्यो ?

अख्तियारले पूर्वमन्त्रीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति तत्कालीन अध्यक्षको रुपमा जिम्मेवार ठहर्‍याएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणमा पर्यटनमन्त्री सञ्चालक समिति अध्यक्ष हुने व्यवस्था छ । अख्तियारले तत्कालीन पर्यटन सचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थसचिव सुमनप्रसाद शर्मा, कानूनसचिव भेषराज शर्मा विरुद्ध मुद्दा चलाएको छ । मुद्दा खेप्नेमध्ये पर्यटन मन्त्रालयका तत्कालीन सहसचिवहरु रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, सुरेश आचार्य छन् । उनीहरू पछि सचिव भएर अवकाश पाइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिका तत्कालीन सदस्यहरु मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरीङ शेर्पा, मदन खरेल विरुद्ध पनि मुद्दा चलेको छ । भन्सार विभागका तत्कालीन महानिर्देशकहरु मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, सचिव भएर अवकाश भइसकेका तत्कालीन सहसचिव मधुकुमार मरासिनी, सहसचिव लोकबहादुर खत्रीलाई पनि प्राधिकरणको सञ्चालक समितिको सदस्यको हैसियतमा काम गरेबापत भ्रष्टाचार मुद्दा चलेको छ । प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न मानन्धर, रतीशचन्द्र लाल सुमन, उपमहानिर्देशकहरु रोशन चित्रकार, ऋषिकेश शर्मा, सुमनकुमार श्रेष्ठ माथि पनि मुद्दा चलेको छ । चार दिनअघि नलिन्चोक हेलिपोर्ट निर्माणमा समेत भ्रष्टाचारको मुद्दा खेपेका प्राधिकरणका प्रबन्धक मुरारी भण्डारीमाथि पोखरा विमानस्थलको अनियमिततामा पनि मुद्दा लागेको हो । उपसचिवस्तरका थप २० जना कर्मचारीहरुमाथि पनि अख्तियारले मुद्दा दायर गरेको छ । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक र अहिलेका महानिर्देशक प्रदीप अधिकारीमाथि चार दिनको फरकमा दोस्रो भ्रष्टाचारमुद्दा दायर भएको हो । खिलराज रेग्मीको सरकारका बेलामा पोखरा विमानस्थलको लागत अध्ययन गर्न परामर्शदाताको समूह गठन भएको थियो । समूहको नेतृत्व गरेका सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना, सदस्य विनोदानन्द चौधरी र डा. पुरुषोत्तम डंगोल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । डा. तिमल्सेना समावेशी आयोगको अध्यक्षबाट अवकाश भइसकेका व्यक्ति हुन् । उनी केही समय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विज्ञ समेत नियुक्त भएका थिए । अख्तियारले परामर्शदाता टोलीका टिम विज्ञ डा. रबिन्द्रनाथ श्रेष्ठ, परामर्शदाता टोलीका संयोजक एवं सहप्राध्यापक सूर्य ज्ञवाली, विज्ञमा नियुक्त सन्तोषकुमार श्रेष्ठमाथि पनि मुद्दा चलाएको छ । पोखरा विमानस्थल निर्माणको ठेकेदार चाईना सीएएमसी इञ्जिनियरिङका तत्कालीन रिजनल जनरल म्यानेजर लिउ सेङछेङ र उक्त कम्पनीका अध्यक्ष वाङ बो विरुद्ध पनि भ्रष्टाचारमुद्दा दायर भएको छ । ५५ जना व्यक्तिमाथि भ्रष्टाचारमुद्दा चलाएको अख्तियारले निर्माण कम्पनीमाथि पनि अलग्गै मुद्दा दायर गरेको छ ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार