नोबेल अस्पतालको लापरबाही, नाकको अप्रेसन गर्दा आँखा नै गुम्यो…..

विराटनगर –     वरिष्ठ चिकित्सकले अप्रेसन बीचमा छोडेर हिँड्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको खुलेको छ । ५ मंसिरमा विराटनगरको नोबेल मेडिकल कलेजमा ७ वर्षीय बालकको नाकभित्र पलाएको मासुको शल्यक्रिया भएको थियो । तर, उपचारको त्रुटिका कारणले गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको छानबिनको क्रममा देखिएको छ । उक्त घटनापछि पीडित पक्षले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञ टोलीको गठन गरेको थियो । जसमा वीर अस्पतालका नाक, कान, घाँटी रोग (ईएनटी) विभागीय प्रमुख डा. अनिता जिसी (संयोजक) कोशी अस्पतालका डा. वरुन देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुइँटेल सदस्य छन् । गठित विज्ञ टोलीले गरेको छानबिनका क्रममा उपचारमा संलग्न चिकित्सकबाट ‘त्रुटि’ भएको निष्कर्ष निकालेका छन् । समितिका एक सदस्यका अनुसार अनुसन्धान क्रममा अपरेशन गर्दागर्दै वरिष्ठ चिकित्सकले अप्रेसन छाडेर अर्को बिरामी हेर्ने गएको भन्ने देखाएको छ । जेनिशको नाकको शल्यक्रिया डा. प्रज्वल श्रेष्ठको नेतृत्वमा भइरहेको थियो । तर, श्रेष्ठले नाकको शल्यक्रिया गर्दा गर्दै उनले छोडेर हिँडेको अनुसन्धानले देखाएको छ । छानबिन समितिका एक सदस्यले बताए अनुसार डा. श्रेष्ठ अर्को इमर्जेन्सी बिरामी हेर्नुपर्‍यो भन्दै बीचमै अप्रेसन छोडेर हिँडेका थिए । त्यसपछि बाँकी शल्यक्रिया कविराज बास्तोलासहितको सहायक टोलीले पूरा गरेको थियो । अप्रेसन पूरा नगरी चिकित्सक बाहिर निस्किनु गम्भीर लापरबाही देखिएको छानबिन समितिको निष्कर्ष छ । डा. प्रज्वल श्रेष्ठले अप्रेसन गर्दागर्दै बीचमा छाडेर अर्को बिरामी जानुभएको रहेछ । त्यसपछि सहायक डाक्टरले टोलीले अप्रेसन गरेको देखिन्छ,’ समितिका एक सदस्य भन्छन्, ‘ सिनियर डाक्टरले नै छोडेर नहिँडेको भए जस्तो घटना हुँदैन थियो हाम्रो निष्कर्ष छ । छानबिन समितिले डा. श्रेष्ठ, आँखाका चिकित्सक र उपचारमा समलग्न अन्य डाक्टरसँग लिएको बयान लिएको थियो । उक्त बयानमा डा. श्रेष्ठले बीचमा अप्रेसन गर्दा गर्दै अर्को बिरामी हेर्न गएको स्वीकार गरेका छन् । समितिका सदस्यका अनुसार बिरामीलाई उचित क्षतिपूर्ति गर्न र उपचारमा सम्लग्न गरेका टिमलाई कानुन अनुसार कारबाही गर्न लागि सिफारिस गरेको छ । नाकको दाहिनेपट्टिको प्वालमा मासु पलाएपछि बालकलाई ४ मंसिरमा आफन्तले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । ५ मंसिरमा उनको अपरेसन भयो । आँखामा समस्या देखिएपछि अपरेसनको भोलिपल्ट नोबेल मेडिकल कलेजले बालकलाई हतारहतार डिस्चार्ज गरेको थियो । नोबेलले डिस्चार्ज गरेपछि बालकलाई आफन्तले विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरेका थिए । विराटनगर आँखा अस्पतालका चिकित्सकले दाहिने आँखाको भित्री भाग ड्यामेज भएका कारण ज्योति नफर्कने मेडिकल रिपोर्ट दिएको थियो । घटनापछि बालकका मामाले जिल्ला प्रशासन कार्यालयमा कारबाहीको माग गर्दै जाहेरी दिएका थिए । प्रशासनले छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा पत्र लेखेको थियो । छानबिन समितिले तयार गरेको प्रतिवेदन एक–दुई दिनभित्र स्वास्थ्य मन्त्रालयलाई बुझाउने तयारी छ ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार