काठमाडौँ – ग्यास हिटर बालेर सुतेका कारण कोठामा कार्बन मोनोअक्साइडको स्तर बढेर हरेक वर्ष धेरैले ज्यान गुमाउने गरेका छन्। जाडोमा चिसोबाट बच्न मानिसहरू प्रायः हिटर वा ब्लोअर प्रयोग गर्छन्। यद्यपि यसले शरीरलाई न्यानो राखे पनि कहिलेकाहीँ यो गम्भीर रोगको कारण बन्न सक्छ। यी उपकरणहरूले ‘कार्बन मोनोअक्साइड’ नामक विषालु, गन्धहीन र रङ्गहीन ग्यास उत्सर्जन गर्छन्। यदि कोठामा हावा आवतजावत गर्ने ठाउँ (भेन्टिलेसन) छैन भने, यो ग्यास भित्रै जम्मा हुन्छ। यसले गर्दा थकान, कमजोरी र बेहोसीजस्ता समस्या हुन सक्छन्, जसले मृत्युको जोखिम पनि बढाउँछ। नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक रिपोर्टअनुसार, हिटर लगाइएको कोठामा सुतेका ८८ प्रतिशत नवजात शिशुहरूमा कडा खोकी र श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरू देखिएका थिए।
हिटरबाट हुने मुख्य स्वास्थ्य समस्याहरू:
चिकित्सकका अनुसार हिटरको लामो समयसम्मको प्रयोगले स्वास्थ्यमा निम्त्याउने मुख्य खतराहरू यस्ता छन्: हावामा नमीको कमी: हिटरको लामो प्रयोगले कोठाको हावामा नमी पूरै सोसिदिन्छ। यसले गर्दा घाँटी, नाक र छाला सुक्खा हुन्छन्। श्वासप्रश्वासको समस्या: सुक्खा हावाले श्वासप्रश्वास प्रणालीलाई चिढाउँछ, जसले खोकी, एलर्जी र दमजस्ता समस्याहरू बढाउँछ। आँखा र छाला: छाला सुख्खा हुने, आँखामा जलन वा कन्जक्टिभाइटिस हुन सक्छ। गम्भीर जोखिम: हिटरको लगातार प्रयोगले मस्तिष्कमा आन्तरिक रक्तस्राव वा स्ट्रोक जस्ता अवस्था पनि सिर्जना गर्न सक्छ।
कार्बन मोनोअक्साइड विषाक्तता:
हिटरले कार्बन मोनोअक्साइड ग्यास उत्सर्जन गर्छ। बन्द कोठामा यो ग्यास जम्मा हुँदा शरीरमा अक्सिजनको कमी हुन्छ, जसले गर्दा टाउको दुख्ने, चक्कर लाग्ने, थकान र वाकवाकी जस्ता समस्याहरू हुन सक्छन्। गम्भीर अवस्थामा बेहोस वा मृत्युसमेत हुन सक्छ।
नवजात शिशुका लागि खतरा:
चिकित्सकका अनुसार नवजात वा साना बालबालिकाको कोठामा लामो समयसम्म हिटर चलाउनु हानिकारक छ। हिटरले हावाको चिस्यान (मोइस्चर) नष्ट गर्छ, जसले छाला सुक्खा भई सङ्क्रमणको जोखिम बढ्छ। यसबाट बच्चालाई नाक-कान चिलाउने र श्वासप्रश्वासमा समस्या पनि हुन सक्छ।
जाडोमा कोठाको आदर्श तापक्रम:
जाडोमा चिसो कोठा पनि स्वास्थ्यका लागि राम्रो हुँदैन, त्यसैले सन्तुलन आवश्यक छ। विशेषज्ञहरूका अनुसार बेडरूमको तापक्रम लगभग १८ डिग्री सेल्सियस र लिभिङ रुमको तापक्रम लगभग १८ डिग्री सेल्सियस राख्नुपर्छ । यो तापक्रमले शरीरमा रक्तसञ्चार सन्तुलित राख्छ र निद्रामा पनि असर गर्दैन।
हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने सावधानीहरू:
हिटर प्रयोग गर्दा स्वास्थ्य समस्याबाट बच्न निम्न सावधानीहरू अपनाउनु आवश्यक छ:
भेन्टिलेसन: कोठामा थोरै भेन्टिलेसन (हावा आउने ठाउँ) अवश्य राख्नुहोस्, ताकि ताजा हावा आइरहोस् र अक्सिजनको स्तर सन्तुलित रहोस्। नमी कायम राख्ने: हिटरले हावा सुकाउने भएकाले कोठामा (हिटरमाथि होइन) पानीले भरिएको भाँडो राख्दा नमी कायम राख्न मद्दत गर्छ। प्रयोग अवधि: दम, एलर्जी वा मुटुरोग जस्ता समस्या भएका मानिसहरूले लामो समयसम्म हिटर चलाएर बस्नु हुँदैन। सुरक्षा: हिटरको नजिक कपडा वा जल्ने कुनै पनि सामग्री नराख्नुहोस्। ग्यास चुहावटको खतरा कम गर्न समय-समयमा उपकरणको सर्भिसिङ गराउनुहोस्।साभार : रापा












