काराकास – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका लागि उनका असली साथीहरू को हुन् भनेर सोच्नु स्वाभाविक हुन सक्छ। कुनै बेला चीन र रुससँगको उनको अत्यन्तै बलियो निर्भरता अब लगातार अनिश्चित देखिँदै छ। धेरै वर्षसम्म यी दुई देशले भेनेजुएलाको समाजवादी सरकारलाई राजनीतिक, आर्थिक र सैन्य समर्थन दिए। यो सम्बन्धको सुरुवात पूर्वराष्ट्रपति ह्युगो चाभेजको पालामा भएको थियो, जो मादुरोका मार्गदर्शक पनि थिए। तर विज्ञहरूका अनुसार अहिले यो समर्थन धेरै हदसम्म प्रतीकात्मक मात्र रहन गएको छ। सहयोगका रूपमा ठोस सैन्य वा आर्थिक सहकार्यको साटो केवल मौखिक समर्थन मात्र दिइँदै छ। यो परिवर्तन यस्तो समयमा देखिएको छ, जब अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ। यसमा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, जासुसी विमान र १५,००० सैनिक समावेश छन्। अमेरिकाले यस क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै धेरै डुङ्गाहरूमा आक्रमण गरेको छ। यी आक्रमणहरूमा अहिलेसम्म ८० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। हालैका दिनमा अमेरिकाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्याङ्कर पनि जफत गरेको छ। ट्रम्प प्रशासनको भनाइ अनुसार सैन्य तैनाथी र यी आक्रमणहरू लागुऔषध तस्करी विरुद्धको कारबाहीको हिस्सा हुन् र जफत गरिएको ट्याङ्करमाथि पहिलेदेखि नै प्रतिबन्ध लगाइएको थियो।
अहिलेसम्म मौखिक समर्थन मात्र:
चिलीको आन्द्रेस बेलो युनिभर्सिटीस्थित सेन्टर फर चाइना स्टडिजका निर्देशक प्राध्यापक फर्नान्डो रेयेस मत्ताका अनुसार भेनेजुएला अब चीन र रुस दुवैका लागि निकै कम प्राथमिकताको विषय बनिसकेको छ, विशेषगरी जबदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किएका छन्। रेयेस मत्ता भन्छन्, ‘आज रुस वा चीन, कसैसँग पनि भेनेजुएलाको पूर्ण रूपमा रक्षा गर्नका लागि अघि सर्नुपर्ने कुनै ठोस कारण छैन। रुस युक्रेन युद्धमा अल्झिएको छ र चीन, राष्ट्रपति ट्रम्पसँग अन्तर्राष्ट्रिय स्तरमा सह-अस्तित्व कायम गर्ने प्रयास गरिरहेको छ। सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोले यस द्वन्द्वमा भारी मात्रामा स्रोतसाधन खर्च गरेको छ। यसले उसको आर्थिक स्थिति र सैन्य क्षमता दुवैमा दबाब बढाएको छ। यसका साथै रुसले व्यापक पश्चिमी प्रतिबन्धहरूको पनि सामना गर्नुपरिरहेको छ। कोलम्बियाको इसेसी युनिभर्सिटीको पोलिटिक्स एन्ड इन्टरनेसनल रिलेसन्स ल्याबोरेटरीका निर्देशक प्राध्यापक भ्लादिमिर रुभिन्स्कीका अनुसार, यसले गर्दा पहिले रुसको समर्थनको फाइदा पाउने सहयोगी देशहरूका लागि स्रोतसाधन कम बच्न जान्छ। मध्यपूर्वमा रुसका पुराना सहयोगी सिरिया र इरानले पनि हालैका समयमा यस्तै स्थितिको सामना गरिसकेका छन्। प्राध्यापक रुभिन्स्की भन्छन्, ‘रुसले पहिलेभन्दा बढी प्रतिबन्ध झेल्ने जोखिम लिनेछैन र चीनले मादुरोको रक्षाका लागि आफूमाथि थप कर (ट्यारिफ) लाग्ने खतरा उठाउनेछैन।बीबीसी












