काठमाडौं – नेकपा एमालेको पदाधिकारी संख्या १९ छ । ११औं महाधिवेशनमा पदाधिकारीका १९ पदमा ४१ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन् । महाधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्षमा पाँच जना, महासचिव एक, उपमहासचिवमा तीन र सचिवमा ९ जना चुनिनेछन् । एमाले निर्वाचन आयोगका अनुसार १९ जना पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको थियो । तर, उपमहासचिवमा उम्मेदवारी दिएका राजेन्द्रकुमार गौत्तमले निर्वाचनको दौड छाडे । यो सँगै पदाधिकारीमा लड्ने उम्मेदवारको संख्या ४१ भएको हो । पदाधिकारीका प्रतिस्पर्धी ४१ जना मध्ये एक जना मात्र ५० वर्ष मुनिका छन् । ४१ वर्षकी उनी हुन्- रचना खड्का । खड्का सचिव पदमा उम्मेदवार छिन् । १०औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य थिइन् । यसपटक पदाधिकारीमा प्रतिस्प्रर्धा गर्दैछिन् । बाँकी उम्मेदवारहरूमा ५० देखि ५९ वर्षमा १२ जना छन् । ६० देखि ७० वर्षका २६ र ७१ वर्ष माथिका दुई जना रहेका छन् । जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष उमेर पुरा गरेको नागरिकलाई जेष्ठ नागरिक भनेको छ । जेष्ठ नागरिकको परिभाषा भित्र पर्ने उम्मेदवारहरूको संख्या २८ छ । यो कूल उम्मेदवारको ६८.२९२ प्रतिशत हो । अध्यक्षका प्रत्यासी दुवै केपी शर्मा ओली र ईश्वर पोखरल ७० वर्ष माथिका छन् । अध्यक्षमा तेहेरिन खोजेका ओली ७४ वर्षका भए । २००८ साल फागुन ११ गने जन्मिएका ओली २०५१ सालमै गृहमन्त्री भएका थिए । त्यसयता निरन्तर नेपालको राजनीतिमा रहेका उनी २०६३ मा उपप्रधान एवं परराष्ट्रमन्त्री भएका थिए । ९ औं र १०औं महाधिवेशनबाट अध्यक्ष भएका ओली २०७२, २०७४, २०८१ सालमा गरेर तीनपटक नेपालको प्रधानमन्त्री भइसकेका छन् । ११औं महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार पोखरेल ७२ वर्षका भए । २०१० साल माघ २० गते जन्मिएका पोखरेल २०२४ सालदेखि राजनीतिमा छन् । २०४७ मा स्थापना भएको नेकपा एमालेको केन्द्रीय सदस्य रहेका उनी २०५४ मा पोलिटब्युरो तथा स्थायी समिति सदस्य हुँदै २०६५ र २०७० मा दुई पटक एमाले महासचिव भए । १०औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष भएका पोखरेलले यसपटक अध्यक्षमा उम्मेदवारी दिएका हुन् । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार रहेका पोखरेल २०७४ मा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री भएका थिए । पहिलो संविधानसभामा छोटो समयका लागि उपप्रधानसहित मन्त्री भए । २०६० सालमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री थिए । एमालेमा अध्यक्षपछिको कार्यकारी पद महासचिव हो । यसमा दुई जना उम्मेदवार छन् । १०औं महाधिवेशनबाट महासचिव भएका शंकर पोखरेल दोहोरिन खोजेका छन् भने सुरेन्द्र पाण्डेले पोखरेललाई टक्कर दिँदैछन् ।साभार : अखप












