भूतपूर्व ब्रिटिश गोर्खा सैनिकलाई समान पेन्सन नदिने बेलायतको अडान यथावत…..

लण्डन –       भूतपूर्व ब्रिटिश गोर्खाहरुका मागका सम्बन्धमा बेलायतको रक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्तामा ठोस सहमति नजुटे पनि सहभागीहरुले वार्ता सकारात्मक भएको बताएका छन् । बेलायत र नेपाल सरकार एवं गोर्खा प्रतिनिधिहरुबीच मंगलबार दिउँसो रक्षा मन्त्रालय (एमओडी) भवनमा त्रिपक्षीय वार्ता भएको थियो । यो गत वर्ष २७ मार्च २०२४ पछिको पहिलो मन्त्रीस्तरीय वार्ता थियो । बेलायती भेट्रान्स मन्त्री लुइस स्यान्डर जोन्ससमेत सहभागी वार्ता करिब डेढ घण्टासम्म चलेको थियो । वार्ता सकारात्मक दिशातर्फ बढेको वार्ताको नेतृत्व गरेका लन्डनस्थित कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी दिए । शुरुमा गत सेप्टेम्बरमा मात्र पदभार सम्हालेकी मन्त्री जोन्स र कार्यवाहक राजदूत दुवाडीबीच शिष्टाचार भेटका साथ द्विपक्षीय कुराकानी भएको थियो । त्यसपछि गोर्खा प्रतिनिधिहरुसहित त्रिपक्षीय वार्ता भएको थियो । वार्ता गोर्खा भेट्रान मुद्दामा केन्द्रित भएको जनाउँदै दुवाडीले लामो समयदेखि थाती रहेको यस विषय छिटो टुंग्याउन आग्रह गरिएको बताए । बेलायतले वेलफेयरमा धेरै स्किम ल्याएको छ । तर, हाम्रो जोड फाइनान्सियल बेनिफिट पनि हो’, उनले अनलाइनखवरसँग भने, ‘अनि हाम्रो माग पैसामात्र भन्दा पनि आत्मसम्मान र स्वाभिमानको विषय हो । दुई शताब्दी भन्दा लामो सम्बन्ध र गोर्खाहरुले बेलायत र क्राउनलाई आफ्नो जीवन बलिदान गरेकाले यस मुद्दा प्राथमिकताका साथ हेरिनुपर्छ भनेका छौं । दुवाडीले समान पेन्सनको विषय संवेदनशील भएको र यसले अरु निकायमा समेत दीर्घकालीन असर पार्न सक्ने भएकाले पेन्सनको अन्य विकल्पमा छलफल गर्न मन्त्री सकारात्मक भएको बताए । यो विषय एकै दिन सकिने खालको पनि होइन । आगामी दिनमा छलफल गर्दै जान मन्त्रीबाट सकारात्मक टोन आएको छ’, दुवाडीले थपे, ‘उहाँले बहुनिकायसँग पनि छलफल गर्नुपर्ने भएकाले फेरि बैठक बसौं भन्नुभएको छ । हामीले लामो समय लम्बिँदा वृद्धवृद्धा गोर्खाले न्याय नपाउने अवस्था समेत आउन सक्छ भनेर सचेत पनि गराएका छौं । वार्तामा सहभागी मेजर (रिटायर्ड) जुद बहादुर गुरुङले मन्त्री जोन्सले पेन्सन भन्ने शब्द उच्चारण नगरी ‘अफोर्डेबल सोलुसन’ ल्याउन प्रस्ताव गरेको जनाए । ‘उहाँले तपाईंहरुको प्याकेज ल्याउनुस् छलफल गरौंला भन्नुभएको छ । बेलायतले समान पेन्सन भनेर त दिंदैन तर अरु तरिकाबाट प्याकेज दिन सकारात्मक छ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार