काठमाडौं – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका प्रमुखहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिहरूसँग छलफल हुँदै आए पनि बालुवाटारमा तीन शीर्ष नेतासँग आज पहिलोपटक बैठक भएको हो । सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री जगदीश खरेलका अनुसार आजको छलफलले २१ फागुनमै चुनाव हुने बातावरण बनेको छ । चुनाव हुन्छ कि हुँदैन भन्ने कुराको अब स्पष्ट जवाफ आयो अब चुनाव हुन्छ,’ बैठकपछि सञ्चारमन्त्री खरेलले भने । उनका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध छन् । फागुन २१ को चुनाव यताउता नगरौं । विशेष परिस्थितिमा यो सरकारले काम गरिरहेको कारणले पनि उहाँले सरकारले गरेको कामको प्रशंसा गर्नुभयो,’ प्रचण्डबारे मन्त्री खरेलले भने । उनका अनुसार देउवाले पनि अबको कार्यदिशा प्रष्ट चुनावतर्फ रहेको बताएका छन् । ‘देउवाले कांग्रेसको प्राथमिकता अब संसद् पुनर्स्थापना होइन, चुनाव हो भनेर भन्नुभएको छ,’ उनले भने । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आफूहरू चुनावको विपक्षमा नभए पनि सुरक्षा चिन्ता जनाएका थिए । बैठक स्रोतका अनुसार ओलीले सुरक्षा चिन्ता जनाउँदा केही रोचक दृष्य देखिएको थियो । जहाँ– ओलीले चिन्ता गर्थे, जवाफ प्रधानमन्त्री कार्की भन्दा अघि बढेर देउवाले दिन्थे । ओलीका केही प्रश्नको जवाफ प्रचण्डले पनि दिएका थिए ।
ओलीलाई सम्झाउने कोशिस:
बैठक स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसहित देउवा, ओली र प्रचण्डबीचको छलफललाई सञ्चारमन्त्री खरेलले अगाडि बढाएका थिए । खरेलले चुनावी वातावरण बन्दै गएको, र प्रमुख दलहरूबाट त्यसमा जिम्मेवार भूमिका जरुरी पर्ने बताएका थिए ।सञ्चारमन्त्रीले भूमिकासहित बैठक अगाडि बढाउनुभएपछि नेताहरू आफैंले कुरा राख्न थाल्नुभयो,’ स्रोत भन्छ, ‘बैठकभर शेरबहादुर देउवा हाबी हुनुभयो ।’ जबकि बोल्दै नबोल्ने अथवा थोरै शब्दमा जवाफ दिएर बैठक टुंग्याउने स्वभावका नेता हुन्, देउवा । तर आज बालुवाटारमा देउवा फरक भूमिकामा देखिएका थिए । शुरूमै देउवाले समानुपातिक तर्फको बन्दसूची बुझाउने मिति थप्नेबारे प्रस्ताव राखेका थिए । हाम्रो पार्टीभित्र अलिक समस्या छ, पाँच दिन जति बन्दसूची बुझाउने समय थप्दा राम्रो हुन्थ्यो,’ देउवाको प्रस्ताव थियो । तर २१ फागुनको चुनाव तलमाथि गर्न नहुने पनि देउवाले बताएका थिए । पार्टीमा समस्यै भयो के, के गर्ने होला,’ देउवाले बन्दसूचीको मिति थप्न जोड गरेका थिए । देउवाको यस्तो प्रस्तावमा ओली र प्रचण्डले पनि साथ दिएका थिए । हामी त समयमै दिन्छौं, तर सबैलाई सहज हुन्छ भने पाँच दिन थप्दा केही फरक पर्दैन,’ देउवालाई नै सहयोग पुग्नेगरी प्रचण्डले बोलेका थिए । यसमा ओलीले पनि विमति जनाएनन् । ‘मेरोमा झमेला छैन, एकै क्षणमा दिन्छु,’ ओलीले भनेका थिए ।साभार : अखप












