चुनावमा जुट्ने, अरु बेला फुट्ने…..

जनकपुरधाम –     २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेशकेन्द्रित दलहरूबीच एकता प्रक्रिया अघि बढेको छ । विगतमा व्यक्तिगत टकराव र सामान्य विषयका असमझदारीमा समेत पटकपटक फुटेका मधेशकेन्द्रित दलहरूले यसपटक निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न एकता जुटेका हुन् । आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दालाई सशक्त बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने साझा उद्देश्यसहित एकीकरणको निर्णय गरिएको अध्यक्षद्वय यादव र ठाकुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यद्यपि एकीकरणपश्चात दलको नाम के राख्ने वा कुन चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने खुलाएको छैन । यी दुई दलको एकतालाई स्वीकार गर्दै सोमबार जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादव उपेन्द्र यादवसँग पुन: मिसिए । सहमति पत्रअनुसार १३ पुस २०८२ मा रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यसहित जसपा नेपालसँग औपचारिक एकीकरण गरिएको हो । रेणु यादव र प्रदीप यादव १३ वैशाख २०८१ मा जसपा नेपालबाट अलग भई अशोक राईसँगै जनता समाजवादी पार्टीमा आबद्ध भएका थिए । करिब डेढ वर्षपछि उनीहरू पुन: उपेन्द्र यादवसँगै फर्किएका हुन् । उता, अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिन गठबन्धन कसेका छन् । तीनवटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची बुझाएका छन् । अहिले एकीकरण गरेको जसपा नेपाल र लोसपा पाँच वर्षअघि नै विभाजन भएका थिए । १० वैशाख २०७७ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी (सपा) र महन्थ ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी, महेन्द्र यादव तथा अनिल झा नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भई जसपा बनेको थियो । २०७४ को निर्वाचन परिणामका कारण यी दुई दल एक हुँदा मधेश प्रदेशमा स्पष्ट बहुमतसहित सरकार गठन भएको थियो । त्यसबेला सपा र राजपाले क्रमश: ३० र २५ सिट जित्दै कुल ५५ सिट प्राप्त गरेका थिए, जबकि प्रदेश सरकार गठनका लागि ५४ सिट आवश्यक थियो। संघीय संसदमा पनि दुवै दल मिलेर ३४ सांसद थिए । तर, एकीकरणपछि पार्टीभित्र स्वार्थ र नेतृत्व संघर्षका कारण कलह बढ्दै गयो । परिणामस्वरूप, एकीकरण भएको डेढ वर्ष नपुग्दै २०७८ भदौ दोस्रो सातामा जसपा नेपाल पुन: विभाजन भयो । महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भयो । जसपा नेपाल विभाजन भएपछि सरकारबाट महन्थ ठाकुर पक्षमा लागेका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित मन्त्री र राज्य मन्त्रीलाई लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारले बर्खास्त नै गरेका थिए । यद्यपि, कांग्रेस, माओवादी केन्द्रलगायत दलहरूको गठबन्धनको सहारामा जसपा नेतृत्वको मधेश सरकार पाँच वर्षे पूर्ण कार्यकाल पूरा गर्न सफल रह्यो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार