काठमाडौँ – जेनजी आन्दोलन सफल तुल्याएका युवा पुस्ता साझा नेतृत्वको अभावमा खण्डित भए भनेर केही महिनादेखि प्रकट हुँदै आएको सार्वजनिक चिन्ता अन्ततः मेटिएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाह, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एकीकृत भएसँगै वैकल्पिक राजनीतिक शक्तिको एउटा बलियो धार सतहमा आएको छ । रास्वपा २०७९ को संसदीय निर्वाचनमा जनताबाट अनुमोदित राजनीतिक शक्ति हो भने बालेन र कुलमान युवा पुस्ताले रुचाएका अनुहार हुन् । रवि, बालेन र कुलमानसहितको रास्वपा एउटा बलियो राजनीतिक शक्ति बन्ने आकलन गरिएको छ । उनीहरूबिच जेनजी आन्दोलनमा उठेका मुद्दा सम्बोधन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने सहमति भएको छ । यस्तो सहमतिले एकातिर परम्परागत राजनीतिक शक्तिलाई झस्काइदिएको छ भने अर्कोतिर परिवर्तन चाहने युवा पुस्तालाई उत्साहित बनाएको छ । यद्यपि यो उत्साहले कुन आकार लिन्छ भन्ने जान्न निर्वाचनसम्म कुर्नुपर्ने हुन्छ । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनका बाहक भनिएका राजनीतिक दललाई जनताले निर्वाचनमार्फत अनुमोदन गरेर शासनसत्ता सुम्पिएका छन् । २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसलाई जनताले २०४८ सालको आमनिर्वाचनमा एकल बहुमत दिएर सत्तामा पुर्याए । २०६२/०६३ को जनआन्दोलन सफल बनाउन निर्णायक भूमिका निर्वाह गरेको माओवादीलाई पनि २०६४ को संविधान सभा निर्वाचनमा जनताले देशकै ठुलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्दै सरकारको नेतृत्वमा पुर्याए ।गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारमात्र ढालेन, राजनीतिक कोर्सको ‘च्याप्टर’ नै परिवर्तन गरिदियो ।साभार : रापा












