काठमाडौं – राष्ट्रिय सभा सदस्यको निर्वाचनमा चार दलबीच तालमेल हुने भएको छ । प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल मिलेर चुनाव लड्न लागेका हुन् । महन्थ ठाकुर नेतृत्वको पार्टीसमेत जसपा नेपालमा मिलिसकेको छ । यसकारण प्रमुख शक्तिहरू नै राष्ट्रिय सभा चुनावमा तालमेलमा पुगेका हुन् । यी चार दल नै राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दल हुन् । चार वटै दलको नेतृत्वले चुनावी तालमेल र उम्मेदवार कसलाई बनाउने भनेर टुंगो लगाउने जिम्मा आआफ्नो पार्टीबाट आफैँ लिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभामा तालमेल गरेर चुनाव लड्ने निर्णय नै गरेका हुन् । मंगलबार एमालेको सचिवालय बैठक बसेको थियो । जसले राष्ट्रिय सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेको छ । बैठकपछि उपमहासचिव लेखराज भट्टले एमालेले हरेक प्रदेशमा एक जना पर्ने गरी ७ सिट पार्टीले माग गरेको बताए । उनका अनुसार कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । मंगलबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । जसले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय गरेको हो । मंगलबार नै नेपाली कम्युनिस्ट पार्टीको परामर्श बैठक बसेको थियो । परामर्श बैठकले मतभारका आधारमा भागबण्डा हुनुपर्ने र यसो हुँदा कांग्रेस र एमालेसँग तालमेल गरेर जाने निर्णय गरेको छ । बैठकपछि नेता प्रकाश ज्वालाले भने, ‘सम्मानजनक सहमति भयो भने कांग्रेस र एमालेसँग मिलेर जाने भन्ने भएको छ । मतभारको आधारमा संख्यामा सहमति गरेर जानुपर्छ । यसबारे थप निर्णय गर्ने जिम्मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पाएका छन् ।साभार : अखप












