पोखरा – माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन गरेर जाने निर्णय थाहा पाए पनि टिकट कसले हात पार्ला भनेर नेताहरु चनाखो थिए । उम्मेदवारी मनोनयन गर्ने दिन बुधबार बिहानै एमालेबाट यसअघिकै उम्मेदवार गोरखाकी सम्झना देवकोटालाई नै उभ्याउने निर्णय हुँदा कांग्रेस नेताहरु पनि अन्योलमै थिए । पछि एकाएक सोच्दै नसोचेको जगत तिमिल्सिनाको नाम कांग्रेस सभापति शेरबहादुर देउवाले दिएपछि नेताहरु चकित परे । न चर्चामा आएको, न सिफारिस र प्रस्ताव नै भएको पात्रले एकाएक टिकट पाएपछि कांग्रेस नेताहरु बल्ल उनको परिचय र योगदानको खोजी गर्दै थिए । गण्डकीका ११ जिल्लाबाट ५० जना आकांक्षीको नाम केन्द्रमा सिफारिस भएको थियो । त्योभन्दा बाहेकबाटै सभापति देउवाले तिमल्सिनाको नाम दिएपछि कांग्रेसभित्र अर्को तरंग सिर्जना हुन पुग्यो । एकातिर विशेष महाधिवेशनले फुटको संघारमा पुगेको कांग्रेस विभाजित थियो भने अर्कोतिर देउवा समूहबाटै पनि गण्डकीमा चर्चाबाहिरको नाम आएको थियो । २०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेका नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा फेरि एकपटक सांसद बन्ने धोकोसहित प्रदेशबाट १ नम्बरमा सिफारिस भएका थिए । उनलाई गण्डकीकै नेताहरुले करिब २ महिना अगाडि नै राष्ट्रिय सभा सदस्यको रुपमा चर्चा गरेका थिए । सिफारिस हुने २ नम्बरमा पटक–पटक सांसद र मन्त्री बनेका गोपालमान श्रेष्ठको नाम थियो । तेस्रोमा गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल थिए । तनहुँका प्रभावशाली नेता मानिने धुव्र वाग्ले चौथो नम्बरमा थिए । गोरखाका अब्दुर सतार, तनहुँका रघु पौडेल, स्याङ्जाका शंकरप्रसाद पाण्डे, कास्कीका सोभियतबहादुर अधिकारी, देवराज चालिसे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मूल्मीलगायत ५० जना आकांक्षीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, ती सबै नामहरुलाई एकातिर पन्छाएर सभापति शेरबहादुर देउवाले ‘खल्तीबाट’ प्राध्यापक जगत तिमिल्सिनाको नाम निकालेको नेताहरु बताउँछन् । ५० जनाको नाम सिफारिस थियो । उहाँको नाम न चर्चामा थियो न कतैबाट प्रस्ताव नै आएको थियो । हामी सबै योग्य नै थियौं । मलाई नदिए पनि सभापति देउवा भनेर राजनीति गर्नेहरु धेरै थिए,’ कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले भने, ‘प्राध्यापकजस्तो मान्छेलाईलाई डिन, उपकुलपति पो बनाउने हो । निर्वाचन आयोगमा कांग्रेस, एमालेका उम्मेदवारसहित नेता–कार्यकर्ता मनोनयन दर्ता गराउन पुगेका थिए । तर, कांग्रेसका नेता–कार्यकर्ता भने उत्साही थिएनन् ।साभार : अखप












