काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ । प्रमुख अतिथिको निमन्त्रणा पठाइएको भए पनि देउवाले भने अस्वीकार गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । उनीहरुले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएका छन् । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् । विशेष अधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले बन्दसत्रको सभापतित्व गर्ने तय भएको हो । तर कसले गर्ने भन्ने टुंगो नलागेको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले बताए । विशेष महाधिवेशनको सचिवालयका अनुसार भने पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठमध्ये एकले बन्दसत्रको सभापतित्व गर्नेछन् । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । आचार्यले २०१४ सालमा मोरङमा भएको विशेष महाधिवेशनको उद्घाटनको सभापतित्व तत्कालीन मोरङ सभापतिको हैसियतले गिरिजाप्रसाद कोइरालाले गरेको र अहिले यहाँ काठमाडौँको सभापतिले गर्ने जानकारी दिए । महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन् । उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।
प्रतिनिधिको नाम दर्ता ८ बजेदेखि:
नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि नाम दर्ताको तयारी थालिएको छ । बिहान ८ बजेदेखि नै नाम दर्ता सुरु गर्ने तयारी गरिएको छ । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट ८ बजेदेखि नाम दर्ता सुरु गरिने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । उनीहरुले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएका छन् । महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन् । उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।साभार : अखप












