काठमाडौँ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरूविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित बनेको छ । गत भदौ १८ गतेबाट निरन्तर सुनुवाइ गरी अन्तिम फैसला गर्ने भनिएपनि त्यस दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले तारेख थाम्ने अवधि बाँकी भएकाले तारेखको म्याद गुजारेपछि पेस गर्न आदेश भयो । एकैपटक दुई महिनापछि कात्तिक २४ मा पुरक निवेदनमाथि सुनुवाइ भयो । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले हेर्दाहेर्दैमा रोखर कात्तिक २६ गत अन्य आदेश जारी भयो । मंसिर १४ मा साप्ताहिक पेसी तोकिएको उक्त मुद्दामा न्यायाधीश रामचन्द्र खड्काको इजलासले साक्षी बुझ्ने आदेश जारी गरेको थियो । त्यसपछि यो मुद्दामा पूरक र साप्ताहिक पेसी चढ्दै आइरहेको छ । पछिलो समय पुस २१ गते मणिराम न्यौपानेको इजलासमा परेको यो मुद्दाको पेसीमा अन्य प्रमाण बुझ्ने आदेश भएपछि अर्को पेसी भने तोकिएको छैन । यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् । यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०/०८१ मा मुद्दाले प्राथमिकता नै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा ३४ पटक पेसी सूचीमा चढिसकेको छ ।साभार : रापा
यी हुन् शरणार्थी प्रकरणका अभियुक्त:
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी
तत्कालीन उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी
पूर्व गृहमन्त्री बालकृष्ण खाँण
हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ
तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी
तत्कालीन गृहसचिव टेकनारायण पाण्डे
तत्कालीन संविधानसभा सदस्य आङ्टावा शेर्पा
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा
तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई
तत्कालीन गृहमन्त्रीका थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राई
शरणार्थी प्रकरणका बिचौलिया केशव दुलाल
बिचौलिया दुलालकी पत्नी दीपा हुमागाईं
शरणार्थी प्रकरणका बिचौलिया सानु भण्डारी












