श्रम संस्कृतिको प्रतिक पार्क…..

धरान –      काठमाडौं बस्दै आएकी देवलक्ष्मी श्रेष्ठ तीन वर्षअघि धरान आएकी थिइन् । यहाँका मेयर हर्क साम्पाङको आग्रह मान्दै त्यसबेला उनले केही दिन ढुंगा पनि बोकिन् । र, काठमाडौं फर्किन् । सर्दु खोलाको बगरमा त्यसबेला कुनै संरचना थिएन, थियो त केवल मेयर हर्क साम्पाङको जोश । ‘फुलहरू थियो, अरू केही थिएन’, उनी भन्छिन् । तर तीन वर्षपछि (गत १९ पुसमा) धरान आउँदा उनी दंग परिन् । आफूले ढुंगा बोकेको क्षेत्रको नामै फेरिएर बनेको छ- श्रम संस्कृति पार्क । ‘अहिले आउँदा त अचम्मै लागेको छ, यत्रो ठूलो बनिसकेछ’, मक्ख पर्दै भनिन्, ‘हर्क साम्पाङले राम्रो काम गर्नुभएको रहेछ, धेरै मान्छे आएको देख्दा खुसी लाग्यो । केही दिन ढुंगा बोक्दा यति सुन्दर पार्क बन्छ भन्ने विश्वास नलागेको पनि उनले बताइन् । ‘यस्तो बन्छ जस्तो लागेकै थिएन । अहिले राम्रो देखेँ, अझै राम्रो होस्’, उनले भनिन् । उनी जस्तै अनुभव सहित श्रम संस्कृति पार्कको अवलोकनकर्ता अरू थुप्रै भेटिए । जसले यति भव्य पार्क बन्छ भनेर श्रमदान गरेका थिएनन् । श्रमदान नगरेका अवलोकनकर्ताहरू भने यस कामको नेतृत्व गरे बापत मेयर साम्पाङको प्रशंसा गर्छन् । विचार नमिलेपनि उहाँको अभियान धेरै राम्रो छ’, पार्कमै भेटिएका रमेश आचार्यले भने । अझ श्रमदानबाट यो पार्क बनेकाले मुलुककै निम्ति भिन्न उदाहरण समेत बनेको उनी बताउँछन् । ‘श्रमदानबाट यतीको काम गर्नु धेरै ठूलो कुरो हो । अरुतिर पनि यसको सिको हुनु आवश्यक छ’, उनी भन्छन् ।

करोडौंको संरचना:

धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङका अनुसार यो पार्क श्रमदान अभियानबाट निर्माण भएको हो । पार्कको सबैभन्दा ठूलो विशेषता भनेकै यसमा राज्यकोषको लगानी भएको छैन । उनका अनुसार दाताले स्वच्छाले आफन्तको सम्झनामा संरचना बनाइदिएका छन् । यसरी निर्माण भएको संरचनामा दाताको नाम छ । पार्क अहिले नगरपालिकाको एक प्रमुख आम्दानीको स्रोत बनेको पनि उनी दाबी गर्छन् । पार्क व्यवस्थापनमा खटिएका प्रदीप राईका अनुसार, शनिबार र सार्वजनिक बिदाका दिन त ५ हजारसम्म पर्यटक आउने गर्छन् । अन्य दिनमा २ हजारको हाराहारीमा आगन्तुक पुग्छन् । ‘यो सचेत धराने समूह र आम नागरिकको पसिनाको प्रतिफल हो, अहिले नगरको कोषमा आम्दानी भित्र्याइरहेको छ’, राईले भने । मोरङ उर्लाबारीका टीएस राईलाई धरानको श्रम अभियानले विश्वभरका नेपालीमा छुट्टै छाप छाडे जस्तो लाग्छ । ‘श्रम संस्कृति पार्क धेरै राम्रो रहेछ, यसले समाजलाई गर्न चाहे केही हुँदैन भन्ने सन्देश दिएको छ’, उनले भने । विराटनगरकी सीता निरौला पिकनिक मनाउन पार्क पुगेकी थिइन् । पार्कको सुन्दरता र श्रमको शक्ति देखेर उनी प्रभावित भइन् । ‘एकले थुके थुक, सयले थुके नदी भनेको यही हो’, उनले भनिन्, ‘एक्लैले केही गर्न सकिन्नथ्यो, तर सबै मिल्दा यति राम्रो संरचना बन्यो । उनलाई हर्क साम्पाङको अभियान राम्रो लाग्छ । तर, उनको बोलिरहने शैली सुधार गर्नुपर्ने उनको सुझाव छ । ‘उहाँले गर्नुभएको सनो कुरालाई एकतिर राखौं, धरानमा उहाँले धेरै राम्रो गर्नुभएको छ’, उनले भनिन् ।

पसिनामा भेटिने सन्तुष्टि:

हर्क साम्पाङले धरानबाट सुरु गरेको श्रमदान देशभर फैलिएको छ । धरानबाट ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाटै पानी ल्याइएको छ । श्रमदान गर्नेहरूका लागि यो केवल निर्माण कार्य मात्र होइन, एउटा उत्सव र राष्ट्रभक्ति पनि भएको इटहरीका विज्ञान राई बताउँछन् । उनी नियमित श्रमदानमा खटिन्छन् । ‘देशका लागि पसिना बगाउँदा छुट्टै सन्तुष्टि मिल्छ’, उनी भन्छन्, ‘हप्तामा अरु दिन आफ्नो लागि काम गरे पनि एक दिन देशका लागि श्रमदान गर्नुपर्छ । धरानकी मायादेवी राई र माया तामाङको लगाव पनि लोभलाग्दो छ । ‘एक दिन श्रमदान गर्न आएन भने छटपटी हुन्छ’, तामाङले भनिन् । उनी मेयर साम्पाङको कामबाट यति प्रभावित छिन् कि उनलाई श्रमदान नसाजस्तै भएको छ । यस्तो मेयर देशमा छैन’, माया राईले भनिन्, ‘मेयरमै बस्नुभए हुन्थ्यो भन्ने मनभित्र छ, अब काठमाडौं जाने भन्नुहुन्छ, फेरि मेयरमै बस्नुभए हुन्थ्यो जस्तो लाग्छ । सचेत धराने समूहको सक्रियतामा यहाँ आकर्षक रक गार्डेन बनाइएको छ । पूर्वगोर्खा सैनिकहरूको योगदानमा विभिन्न संरचनाहरू तयार भएका छन् । गोर्खा चौतारी पनि निर्माण भएको छ । मेयर साम्पाङका अनुसार श्रम संस्कृति पार्क धरानको दीगो आम्दानीको आधार बनेको छ । श्रमदानबाट पनि ठूला र अनुकरणीय काम गर्न सकिन्छ भन्ने यो पार्क एउटा जीवित उदाहरण बनेको छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार