बिहीबारदेखि मौसममा सुधार…..

काठमाडौं –     पश्चिमी निम्न चापीय प्रणालीको कारणले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुका हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमको यो बदलावले दैनिक कामकाज प्रभावित हुन सक्ने र चिसो बढेर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउन मौसमविदले सुझाव दिएका छन् । मौसमविद् सन्जिव अधिकारीका अनुसार आज माघ १३ गते मंगलबार दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । ती दुवै प्रदेशका पहाडी र तराई क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना छ । उनका अनुसार रातितिर पानी पर्ने प्रणाली थप पूर्वतिर सर्दै जाने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही ठाउँमा मध्यम किसिमको हिउँ वा पानी पर्ने सम्भावना छ । यो प्रणालीको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका उच्च पहाडी र हिमाली भेगमा मध्यम खालको हिमपात हुन्छ । एक–दुई ठाउँमा त भारी हिमपात पनि हुनसक्ने सम्भावना छ,’ मौसमविद् अधिकारीले भने । बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा भने एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ । पानीको कुरा गर्नुपर्दा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँहरुमा मध्यम खालको वर्षा हुने सम्भावना छ । ती प्रदेशका तराईका भूभागमा भने हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित नै पानी पर्ने सम्भावना छ ।

काठमाडौंको मौसम कस्तो हुन्छ ?

मौसमविद् अधिकारीका अनुसार काठमाडौंमा पनि हल्का खालको पानी पर्ने सम्भावना छ तर बुधबार मात्र । भोलि बुधबारको दिन थप बादल बढ्ने र दिउँसोतिर काठमाडौंमा पनि हल्का किसिमको पानी पर्ने सम्भावना छ,’ उनले भने, ‘त्यति ठूलो पानी होइन, सामान्य पानी भोलि दिउँसो काठमाडौं उपत्यकामा पर्नेजस्तो देखिन्छ । काठमाडौं उपत्यकाकै छेउँछाउँमा हिउँ पर्ने सम्भावना भने कम देखिएको उनले जानकारी दिए । ‘काठमाडौंभन्दा माथिल्ला भूभागमा र कोशी प्रदेशका हिमाली भेगसम्म पनि हल्का हिमपातको सम्भावना छ,’ उनले भने । मौसमविदहरुका अनुसार मौसममा आएको यो बदलाव बुधबारदेखि नै क्रमिक रुपमा सुधार हुँदै जानेछ । बिहीबारदेखि त पूरै मौसम सफा हुनेछ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार